धवलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया – Nagarikabhiyan : National News

धवलागिरि अस्पतालमा पहिलो पटक मेरुदण्डको शल्यक्रिया

काठमाण्डौ –  बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधवार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा‍।विनित ढकाल, डा‍।समिर लामिछाने, डा‍।प्रमेश थापा, डा‍।राजन शर्मा, डा‍।अमित ढुङ्गानालगायत डाक्टरको टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा‍।रविरञ्जन प्रधानले जानकारी दिनुभयो ।

यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ उहाँले भन्नुभयो । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा‍।प्रधानले बताउनुभयो ।

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाण्डौलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ ।

पछिल्लो समय विशेषज्ञ डाक्टर थप भएसँगै अस्पतालले ओपीडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।