वीरेन्द्रनगरकी मेयर हुटहुटी छ, तर परिणाम देखिएन – Nagarikabhiyan : National News

वीरेन्द्रनगरकी मेयर हुटहुटी छ, तर परिणाम देखिएन

११ जेठ,सुर्खेत   मीठो वाक् कला । प्रभावशाली व्यक्तित्व । हँसिलो अनुहार, विनम्र स्वभाव । सायद त्यसैले होला वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकाललाई अधिकले रुचाउँछन् । कुनै जनगुनासो लिएर मेयर ढकाललाई भेट्न गए, मेयरसा’बले मुस्कुराउँदै भनिदिन्छिन्( ‘हुन्छ, म बुझ्छु । भइहाल्छ ।’

बाटो मर्मत गर्नुपर्‍यो । सिंचाइ चाहियो । विद्यालयमा स्यानिटरी प्याड पुगेन । जुनसुकै समस्या लिएर जानुहोस् मेयर ढकालबाट ‘हुँदैन, गर्दिनँ, थाहा छैन’ भन्ने जवाफ सुनिंदैन । ढकाल मेयरमा निर्वाचित भएको वर्ष दिन बित्यो । मेयर ढकालकै शब्दमा भन्दा उनी रात(दिन नभनी खटिइरहेकी छिन् । तर वीरेन्द्रनगरवासीले भने परिवर्तन महसुस गर्न सकिरहेका छैनन् । उनी भन्छिन्, ‘थुप्रै कामको सुरुवात गरेका छौं, परिणामका लागि पर्खिनुपर्छ ।’

हर्क र बालेनले देशको ध्यान तानेका छन् । वर्ष दिन बित्दा पनि आफ्नो मेयरले अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्न थालेका छन् । ‘उहाँ उपमेयर हुँदा एउटा छुट्टै ऊर्जा थियो । जोस देखिन्थ्यो’ कांग्रेस नेता नारायण कोइराला भन्छन्, ‘तर मेयरमा निर्वाचित भएपछि त्यो ऊर्जा देखिएन । मीठो भाषण सुनियो, काम भएन ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मेयरको चुनावमा ढकाल जसरी लोकप्रिय मतका साथ विजयी भएकी थिइन्, त्यसरी नै जनताको मन जित्ने काम गरुन् भन्ने जनअपेक्षा थियो । काम नगरे पाँच वर्षपछि जनताले दण्डित गर्छन् भन्नेमा मेयर ढकाल सचेत छिन् ।

‘नीतिगत तहबाटै सुधारका प्रयास भइरहेका छन् । हामीले एउटा सिस्टम बनाउन थालेका छौं’ मेयर ढकालले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘मलाई स्टन्टबाजी गरेर मिडियामा आउनुछैन । एउटा परिणाम दिनुछ । कुनै पनि कामको परिणाम आउन समय लाग्छ । जनताले धैर्य गर्नुपर्छ ।’बताए ।