खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन समस्या छैन मन्त्री लिम्बु
१० जेष्ठ २०८०, बुधबार २१:५७
काठमाण्डौ – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनै पनि समस्या नरहेको बताउनुभएको छ ।
नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बुले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताउनुभएको हो । उहाँले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताउनुभयो । चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
यसैबीच नेपाल ओलम्पिक कमिटीले खेलकुदमन्त्री लिम्बु र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागत गर्दै सम्मान गरेको छ । कमिटीको सातदोबाटोमा रहेको भवनमा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताउनुभयो । उहाँ ओलम्पिक कमिटीका सल्लाहकार पनि हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया