युवराजले गरे ‘सांसद पद खारेज गरिपाऊँ’ भन्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता – Nagarikabhiyan : National News

युवराजले गरे ‘सांसद पद खारेज गरिपाऊँ’ भन्दै रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

बुधबार सिन्धुलीका युवराज पौडेल सफलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता गराएका हुन् ।

दर्ता भएको रिट रिट निवेदनको पेसी जेठ १७ गतेलाई तोकिएको छ । सर्वोच्चमा दर्ता भएको रिटमा लामिछानेको सांसद पद खारेजसँगै सर्वोच्चको मिति २०७९–१०–१३ गतेको आदेशले कायम नरहेको भनि घोषित गरेको नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएको पनि भनिएको छ । साथै, सर्वोच्चको आदेशसँगै कायम नभएको नागरिकताको प्रतिलिपि अवैध र नेपाली नागरिकता कायम नभएको पनि भनिएको छ ।

दायर रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७ १ क र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ क ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ ख र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ क को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’

साथै, लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पनि पेस नगरिएको दायर रिटमा उल्लेख छ । रिट निवेदनमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई विपक्षी बनाइएको छ