तीन महिनादेखि २० नेपाली अलपत्र, भन्छन् टन्नै पैसा कमाउँछौँ भन्दै म्यानपावरले अलपत्र पार्‍यो – Nagarikabhiyan : National News

तीन महिनादेखि २० नेपाली अलपत्र, भन्छन् टन्नै पैसा कमाउँछौँ भन्दै म्यानपावरले अलपत्र पार्‍यो

काठमाण्डौ –काभ्रेको बनेपाका सञ्जीव विकलाई मलेसिया जाने बेलामा म्यानपावर भनेको थियो –‘तलब त तीन हजार ३५ सय रिंगिट हुन्छ, मलेसिया पुगेपछि तिमीहरूलाई हामीलाई बिर्सन्छौ ।’

तर मलेसिया पुगेको तीन महिना पुग्न लाग्दा पनि हातमा एक रिंगिट पनि परेको छैन । सञ्जीव भन्नुहुन्छ ‘पैसा कमाएर बिर्सने हैन, कामै नपाएर दिनरात सम्झिरहन परेको छ म्यानपावरलाई ।’
गएको मार्च १३ तारिखका दिनका कार्गो ह्यान्डलिङ लेबरका रूपमा मलेसिया पुग्नुभएका सञ्जीवसहित २० जना नेपालीहरू कम्पनीमा भरपर्दो काम र तलब नपाएपछि अलपत्र परेका छन् ।

सञ्जीवका अनुसार उहाँसहित साथीहरू काठमाण्डौको बसुन्धारामा रहेको क्रियटिभ प्लेसमेन्ट सर्भिसेज प्रालिलाई तीनदेखि चार लाख रुपैयाँ बुझाएर मलेसिया जानुभएको हो ।
जाने बेलामा म्यानपावरले तीन हजार देखि ३५ सय रिंगिटसम्म महिनाको कमाइ हुने बताएको थियो ।

‘ओभर टाइम हुन्छ, राम्रो काम गर्‍यो भने टिप्स हुन्छ भाइहरू काम र कमाइको तिमीहरूले चिन्तै गर्न पर्दैन भनेको थियो’ म्यानपावरको भनाई सम्झँदै सञ्जीव भन्नुहुन्छ ‘यहाँ यस्तो ठाउँमा सप्लाई कम्पनीमा पारिदियो कि म्यानपावर सम्झँदा त मनमा रिसको आगो बल्छ ।’

म्यानपावरले ३५ सय मलेसियन रिंगिट तलब हुने भनेर उहाँहरूलाई प्रलोभन देखाए पनि मलेसियाको सुन लजिस्टिक सर्भिस एसडिएन बिएसडी मलेसिया कम्पनीसँग गरिएको करार सम्झौता पत्रमा १५ सय मलेसियन रिंगिट न्यूनतम पारिश्रमिक उल्लेख गरिएको छ । करार पत्रमा ओभर टाइम पाउने कुरा उल्लेख गरिएको छैन ।

र, मलेसिया पुगेका दिनदेखि आजसम्म सञ्जीव र उहाँका साथीहरूले तलबका रूपमा एक रिंगिट पनि पाउनुभएको छैन ।
यसरी समस्या भोग्नेमा अछामका भरत विक, सोलुखुम्बुका निमा लामा, सप्तरीका अशेश्वर रामहरीजन, बिरगंजका शिवराज प्रसाद कुर्मी, खोटाङका शङ्कर श्रेष्ठ, कञ्चनपुरका प्रमोद राना, सर्लाहीका कासिंङ मकिश्वर, धनुषाका केशव कुमार भट्टराई हुनुहुन्छ ।

यस्तै उदयपुरका सुमन बान्तवा राई, सोलुखुम्बुका बिशाल बस्नेत, काभ्रे बनेपाका सुनिल चोलाङ्गे, सर्लाहीका श्यामबाबु महत्तो, गुल्मीका याम बुढाथोकी, दाङका विक्रम चौधरी, हनबहादुर चौधरी र रामप्रसाद चौधरी, रामेछापका विजय बस्नेत, पर्वतका भद्र बहादुर थापा र पाल्पाका कमल थापा मगर हुनुहुन्छ ।