स्मार्ट टेलिकमको २१ गते अगाडिको बक्यौता उसकै दायित्व दुरसञ्चार प्राधिकरण – Nagarikabhiyan : National News

स्मार्ट टेलिकमको २१ गते अगाडिको बक्यौता उसकै दायित्व दुरसञ्चार प्राधिकरण

स्मार्ट टेलिकमलाई नेपाल दुरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिनु अगाडि संस्था वा व्यक्तिलाई तिर्नुरबुझाउनुपर्ने बक्यौता स्मार्ट टेलिकमकै दायित्व रहेको प्राधिकरणले जनाएको छ ।

दुरसञ्चार प्राधिकरणले आज सार्वजनिक सूचना निकालेर वैशाख २१ गते अगाडि स्मार्ट टेलिकमले संस्था वा व्यक्तिलाई तिर्नुरबुझाउनुपर्ने बक्यौता उसकै दायित्व भएको र यसमा सरकार वा प्राधिकरणको कुनै दायित्व नहुने जनाएको छ ।

स्मार्ट टेलिकम प्रालिले नियमअनुसार अनुमतिपत्र नवीकरण नगरेको कारण दुरसञ्चार ऐन २०५३ को दफा २५ को उपदफा ५ अनुसार वैशाख ३ गते स्वतः रद्द भइ सम्पूर्ण सम्पत्ति र पूर्वाधार, संरचना प्राधिकरण मातहत आएको छ ।

अनुमतिपत्र नवीकरण नहुँदा दुरसञ्चार सेवा प्रदायक सरकारको अधीनमा आएको नेपालको सन्दर्भमा यो पहिलो घटना हो । २०७० साल वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमति पाएपछि दुरसञ्चार बजारमा प्रवेश गरेको स्मार्ट टेलिकमले त्यसको १० वर्षपछि आफ्नो अस्तित्व जोगाउन असफल भएको छ ।

नवीकरण दस्तुरबाहेक स्मार्टका नाममा रोयल्टी, फ्रिक्वेन्सी शुल्कबापतको झण्डै चार अर्ब रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।