एआई नियमनका लागि साझा मापदण्ड बनाउन जी–सेभेनका सदस्यहरु सहमत – Nagarikabhiyan : National News

एआई नियमनका लागि साझा मापदण्ड बनाउन जी–सेभेनका सदस्यहरु सहमत

आर्थिक रुपमा सम्पन्न देशहरुको समूह जी–सेभेन को भेलाले आर्टिफिसियल इन्टेलिजेन्स  एआई  लाई विश्वसनीय बनाउन नियमनको लागि आह्वान गरेको छ ।

जापानको हिरोसिमामा सम्पन्न जी–सेभेन राष्ट्रका प्रमुखहरूको भेलाले एआईको विकाससँगै यसको नियमन हुन नसकेको भन्दै विश्वसनीय मापदण्डको खाँचो रहेको ठहर गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । भेलाले यस्ता प्रविधिका लागि बनाइने नीतिहरू साझा लोकतान्त्रिक मूल्यमा आधारित हुनुपर्ने बताएको छ ।

जी–७ का राष्ट्र प्रमुखहरुले एआईका अवसर र चुनौतीहरूबारे कुनै निर्णय लिनुअघि यसको समग्र मूल्याङ्कन आवश्यक रहेको बताएका छन् ।

यस्तै बैठकले यही वर्षको अन्त्यसम्ममा प्रतिलिपि र मिथ्या सूचना लगायत एआईसँग सम्बन्धित विषयमा छलफल गर्न हिरोसिमा एआई प्रोसेस नामको मन्त्रिस्तरीय फोरम स्थापना गर्ने सहमति पनि गरेको रोयटर्सले जनाएको छ। बैठकमा सहभागीमध्ये जी सेभेनको आठौँ सदस्य भनिने युरोपेली सङ्घ ईयूले केही समय अघि एआई प्रविधिलाई नियमन गर्न कानुन पारित गरेको थियो ।

पछिल्लो समय एआईको नियमनमा विकसित देशहरूले चासो बढाइरहेका छन् ।