पहाडी क्षेत्रमा बेलुकीपख वर्षाको सम्भावना, तराईका धेरैजसो ठाउँमा भने तत्काल पानी नपर्ने
५ जेष्ठ २०८०, शुक्रबार ०८:३१
काठमाण्डाै -तराईका धेरैजसो क्षेत्रमा लामो समयदेखि पानी परेको छैन । आज पनि बिहानैदेखि तराईका जिल्लामा घाम चर्किएको छ ।
काठमाण्डौसहित पहाडी जिल्लाका केही ठाउँमा मौसम बदली भइ हल्का वर्षा भइरहे पनि तराईमा लामो समयदेखि पानी परेको छैन । तराईमा आज पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार तराईका धेरै ठाउँमा तत्काल पानी पर्ने सम्भावना छैन ।
पहाडी क्षेत्रका केही ठाउँमा भने आज पनि पानी पर्ने अनुमान छ । प्रि(मनसुनका गतिविधि सक्रिय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा अबका केही दिन बेलुकीपख पानी पर्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुसँगै भारतको बिहारमा बनेको न्यून चापीय प्रणाली तथा बङ्गालको खाडीमा विकसित भएको जलवाष्पयुक्त हावाको प्रभाव परेको छ । यसकै कारण दिउँसो पछि हावाहुरी, मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया