नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्ने नै छु स् केपी ओली – Nagarikabhiyan : National News

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा बोल्ने नै छु स् केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज बिहीवारको संसद् बैठकमा सहभागी हुन नसकेको बताउनुभएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिनुभएको हो । उहाँले आजको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताए पनि उहाँ अनुपस्थित हुनुभएको थियो । ओलीले स्वास्थ्यमा सुधार आएपछि नक्कली शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसदमा राख्ने पनि बताउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, ‘प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आज म संसद्को बैठकमा सहभागी हुन सकिनँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूले थाहा पाएका तथ्यहरू संसद्समक्ष राख्ने मैले यसअघि बताएको थिएँ । स्वास्थ्यमा सुधार आएपछि त्यस विषयमा संसदमा बोल्ने नै छु ।’

अध्यक्ष ओलीले सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्री र सांसद्हरूबीच नागरिकका जल्दाबल्दा विषयमा प्रश्नोत्तरको नयाँ प्रचलन आजदेखि सुरु गर्नुभएकोबारे भन्नुभएको छ, ‘ठिक छ । प्रश्नहरू दुई किसिमका हुन्छन् । एकथरी प्रश्नको उत्तरमात्र दिए पुग्छ ।

देशको भविष्यलाई नै प्रभावित पार्ने कतिपय प्रश्नको उत्तरमात्र दिएर पुग्दैन, नागरिकलाई अनुभूति हुने गरी परिणाम दिनुपर्छ ।सांसद्हरूले संसदमा प्रश्न गर्दा प्रत्येक नागरिकले त्यसलाई आफ्नो प्रश्न ठान्न सकोस् र प्रधानमन्त्रीले दिएको उत्तरमा विश्वास र भरोसा गर्न सकोस् । त्यसले हरेक नागरिकले संसदमा आफैँ भएको महसुस गर्न पाउनेछन् । प्रश्नहरू औपचारिकतामात्रै नहोऊन् र उत्तरहरू ओठे प्रतिबद्धतामात्रै नहोऊन् ।’