इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधी घरेलु टोलीलाई – Nagarikabhiyan : National News

इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेटको उपाधी घरेलु टोलीलाई

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो –नेपाल मैत्रीपूर्ण महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) ले जितेको छ ।

तीन खेलको टी–२० क्रिकेट प्रतियोगितामा भारतको अल इन्डिया वुमन टी–२० क्रिकेट एसोसिएनलाई सोमबार ४९ रनले पराजित गर्दै घरेलु टोली विराटनगरले उपाधी जितेको हो । विराटनगरले २–१ ले श्रृङ्खला जितेको हो । पहिलो खेलमा भारतलाई  ९ विकेटले पराजित गरेको विसिसिए टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको थियो । अव मंगलबार ३० ओभरको एक खेल खेल्न बाँकी रहेको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला विराटनगर क्रिकेटको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रनको विशाल स्कोर बनाएको थियो ।

घरेलु टोलीका लागि सम्झना खड्काले नटआउट ५५ रन बनाउँदा कविता जोशी पनि ११ रनमा नटआउट भइन् । त्यस्तै नेपाली राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री ५१ रन बनाएर आउट भइन् । भारतकी कप्तान रितु भोस्लले, रिना रानी र निधि भाग्यसियाले १–१ विकेट लिए ।

जवाफमा १ सय ३८ रनकोे लक्ष्य पछ्याएको भारतीय महिला टोलीले पुरै ओभर खेल्दै ७ विकेट गुमाई ८८ रनमा सिमित भयो । भारतकी अरपिताले नटआउट ३७ बनाउँदा निधि भाग्यसियाले नटआउट १७ रन बनाइन्  । विसिसिएकी कप्तान रुविना क्षेत्री,सवनव राइ, कविता जोशी र अस्मीता कर्मचार्र्यले समान १–१ विकेट लिइन् ।