कोशी प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै चरणबद्ध आन्दोलन घोषणा – Nagarikabhiyan : National News

कोशी प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै चरणबद्ध आन्दोलन घोषणा

विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कन गर्न माग गर्दै ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । जनता समाजवादी पार्टी, नेपालको लिम्बुवान, किराँत, शेर्पालुङ, मधेश, शिल्पी÷दलित राष्ट्रिय समिति आवद्ध संयुक्त संघर्ष समितिले चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

जस अन्तरगत फागुन २८ गते आमहड्ताल गर्ने समितिले जनाएको छ । फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरू गर्ने, स्थानीय तह लगायतका कार्यालयहरूमा तालाबन्दी गर्ने, कोशी नामका बोर्डहरू हटाउने, कोशी नामका लेटरप्याडहरू जलाउने, कोशी नामका मत हाल्ने सांसदहरूलाई प्रतिकार गर्ने, वडा तहसम्म संघर्ष समिति बिस्तार गर्ने समितिले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैगरी संघर्ष समितिले फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने र चैत ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।