बैंक वित्तीय क्षेत्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले थाले छलफल
२१ फाल्गुन २०७९, आईतवार १५:२१
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको छ ।। पछिल्लो समय बैंकको चर्काे ब्याजका कारण ऋणीले आत्महत्या गर्न थालेको लघुवित्तका कारणले धेरैको उठिवास लागेको समाचार आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि सम्बन्धित् पक्षसँग छलफल थालेका हुन् ।
आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका हुन्।
बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन् । यता बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौँ, मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरूसमेत सडक आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालाहरुसँग छलफल सुरु गरेका हुन्। छलफलमा मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता रहेका छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया