अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित – Nagarikabhiyan : National News

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित

विराटनगर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित
विराटनगर । ११३  औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित भएका छन् । उक्त अवसरमा राजनीति र पत्रकारीताको माध्यमबाट  समाजमा योगदान दिने दुई महिला सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् ।

पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरूलाई अगाडि बढ्न निकै चुनौति रहेको बताइन् । उनले आफूले राजनीति गर्ने बेलामा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम पनि भ्याउने गरेको स्मरण गरिन् । उनले महिलाको भूमिका धेरै हुने भएकाले सबैलाई एकसाथ अगाडि बढाउन सहज नहुने बताइन् ।

‘घरको सबै काम भ्याएर राजनीति गर्थे, तर मैले म यहाँसम्म आइपुग्छु भनेर राजनीति गरेको थिइन्’, उनले भनिन्, ‘संगठनमा रहेर ईमान्दारीसाथ काम गर्यो भने लक्ष्यमा पुगिन्छ भन्ने आत्मविश्वास भने थियो’ । उनले हरेश नखाई मेहनत गर्न महिलाहरूलाई आग्रह समेत गरिन् ।

पेशागत महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रिय सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरस्वती खरेल, नेपाल निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठन केन्द्रिय सह कोषाध्यक्ष लिना यादव लगायतले दिवसको महत्व र महिलाको योगदानको विषयमा चर्चा गरेका थिए ।
‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने मूल नाराका साथ मार्च ८ अर्थात फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइदैँ छ ।