होमस्टे संचालकलाई एस्पायर कलेजका विद्यार्थीद्वारा प्रशिक्षण
१३ फाल्गुन २०७९, शनिबार १६:४१
विराटनगर । विराटनरको एस्पायर कलेजमा विद्यार्थीले कोसी टप्पु बन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरूलाई प्रशिक्षण दिएका छन् । कलेजमा बिपिएच. ( ब्याचरल इन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले प्रशिक्षण दिएका हुन् ।
होमस्टे कस्तो हुनुपर्छ, होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने, होमस्टेलाई सफा कसरी राख्ने, शान्त तथा मनोरम वातावरण कसरी बनाउने, होमस्टेमा आएका पाहुनालाई कसरी खुसी बनाउने भन्ने विषयमा विद्यार्थीहरूले प्रशिक्षण दिएका हुन् ।
सुनसरीको प्रकाशपुरमा संचालित १२ बटा होमस्टेका संचालकलाई उनीहरूले प्रशिक्षण दिएका थिए । होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला, लिजा खतिवडा, समीर लावती र लिया खवासले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।
कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार बिद्यार्थीहरूलाई समय समयमा यस्ता कार्यक्रमहरूमा सहभागी गराउने गरिएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढेका कुरा व्यबहारमा उतार्न सजिलो हुने उनले बताए ।
कलेजका प्रीन्सिपल सिएम बस्नेतको नेतृत्वमा गएको टोलिले होमस्टे संचालकहरूलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको संचालकहरूले बताएको बस्नेतले जानकारी दिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा एमविए अध्ययनरत विद्यार्थीहरू निशान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होमस्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया