देवानगंज गाउँपालिकको न्यायिक समिति संयोजकले समय नदिँदा स्थानियलाई न्यायिक सेवामा सास्ती !
४ फाल्गुन २०७९, बिहीबार १७:५०
देवानगंज । जनप्रतिनिधि भनेको जनताको दुःख सुखमा साथ दिनसक्ने हुनुपर्छ । जनताले मत दिएर निर्वाचित त्यत्तिकै गराएका हुँदैनन् । आफ्ना दुःखसुखमा थोरै भएपनि सहयोगको अपेक्षा पनि हुन्छ ।
तर आफैँले निर्वाचित गरेर पठाएका जनप्रतिनिधिले आफुले पाउने सेवाबाट बञ्चित गराए सास्ती खेप्नु पर्यो भने कति दुःख हुन्छ । यस्तै भएको छ सुनसरीको देवानगन्ज गाउँपालिकाका स्थानियहरूलाई । गाउँपालिकमा अन्तरगत रहेको न्यायिक समितिले समय नदिएको स्थानियले गुनासो गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष संयोजक रहने समितिले समय नदिँदा सास्ती भएको स्थानिय बताउँछन् । उपाध्यक्ष कुमारी विभा यादवले समय नदिँदा न्यायिक समितिबाट पाउनुपर्ने सेवाबाट बत्तिचत भएको स्थानिय बुधु मेहताले गुनासो गरे ।
विगत पाँच महिनाभन्दा बढी समयदेखि न्यायिक समितिलाई हार गुहार गर्दा समेत संयोजक यादवले बेवास्ता गरेको उनले बताए । उनले भने, ‘उहाँले जहिले झारो टार्ने काम मात्र गरिरहनु भएको छ । कहिले वास्ता गर्नुहुन्न । हामीले जिताएर पठाएका जनप्रतिनिधिले हाम्रै समस्यामा चासो देखाउँदैनन् ।’
मेहताले लेनदेन सम्बन्धि छलफलका लागि न्यायिक समितिमा निवेदन दिएका छन् । यस्ता निवेदनकहरू दिनुहु आउँदा समेत उपाध्यक्ष यादवले समय नदिँदा उनीहरू न्यायको साटो सास्ति मात्र भोगनु परेको छ ।
जनतालाई सेवा दिन भन्दै लाखौं खर्च गरेर इजलास निर्माण गरिएको छ । तर पनि समयमा सेवा नपाउँदा दुःख मात्रै भोग्नु परेको स्थानिय फुलकुमारी मेहताले बताइन् ।
निर्वाचनका बेला सपना देखाउने तर जितेपछि जनतालाई बेवास्ता गर्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताइन् । देवानगन्ज गाउँपालिकाको न्यायिक समितिले अहिलेसम्म सहज सेवा प्रदान नगरेको उनको गुनासो छ ।
यस विषयमा जानकारी लिन गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक यादवलाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया