टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो – Nagarikabhiyan : National News

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

एजेन्सी । टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको अधिकारीहरुले बताएका छन्।

बिहीबार बिहानसम्मको प्राप्त तथ्याङ्क अनुसार सो भूकम्पमा परेर ज्यान जानेको सङ्ख्या दुवै देशमा गरेर १५ हजार तीन सय ८३ पुगेको छ । दुवै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बिहीबार बिहान सार्वजनिक गरेको तथ्याङ्कमा सो जानकारी दिइएको समाचारमा जनाइएको छ।

बिहीबार बिहानसम्म टर्कीएमाभूकम्पबाट ज्यान जाने नागरिक १२ हजार तीन सय ९१ जना पुगेका छन् । टर्कीएको बिपत व्यवस्थापन विभागलाई उद्धृत गर्दै सो समाचार दिइएको छ। त्यस भूकम्पबाट टर्कीका धेरैको मृत्यु भएको बताइएको छ। टर्कीका राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीएमा भूकम्पमा परी १२ हजार तीन सय ९१ जनाको मृत्यु भएको छ।

यसअघि टर्कीको विपद् व्यवस्थापन निकायले ४४ हजारभन्दा बढी मानिस घाइते भएको जनाएको थियो। घाइते भएकाहरु अस्पताल पुर्‍याइएको छ र अस्पतालमा नै मानिसहरुको निधन भएका समाचारहरु आइरहेका छन्। उता सिरियामा पनि सो भूकम्पमा परी बिहीबारसम्म ज्यान जाने व्यक्तिको सङ्ख्या एक हजार दुई सय नाघेको छ । त्यहाँ दुई हजार जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.७ म्याग्निच्यूडको भूकम्प गएको थियो भने त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यस्तै सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो।

टर्की र सिरियामा सोमबार गएका दुई ठूला र घातक भूकम्पको केन्द्रविन्दु रहेको कहरमानमारासमा उद्धारकर्मीहरू जीवित व्यक्तिहरूको खोजीका लागि जुटेका छन्। धेरै देश र विश्वव्यापी सहायता एजेन्सीहरूले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धार टोली र राहत सामग्रीहरू प्रदान गरिरहेका छन्।