एक्स्पोमा झिंगे माछाको अचार चखाउँदै विराटनगरकी कविता कार्की – Nagarikabhiyan : National News

एक्स्पोमा झिंगे माछाको अचार चखाउँदै विराटनगरकी कविता कार्की

विराटनगर । विराटनगर–२ की कविता कार्कीले घरमा खानका लागि मात्रै बनाउ“दै आएको माछाको अचार स्वादका पारखीहरूका लागि रोजाइ बनेको छ ।
विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका अवलोकनकर्तालाई उनले स्थानीय झिंगे माछाबाट बनेको अचार चाख्न आग्रह गर्दै त्यसको स्वादको पनि प्रतिक्रिया लिइरहेकी छिन् ।
कविताले यसअघि कहिल्यै यसरी अचार बनाएर बिक्री गरेकी थिइनन् । गृहिणीका रूपमा मात्रै रहेकी उनले माछाको मौलिक स्वादयुक्त अचारलाई प्रवद्र्धन गर्ने थलोका रूपमा एक्स्पोलाई प्रयोग गरिन् ।
मेहनत गरेर अचार बनाइन् । उनले बनाएको माछाको अचार चाख्ने जोसुकैले पनि मिठो अचार बनेको प्रतिक्रिया दिइरहेका छन् । जसका कारण उनले भविष्यमा यसैलाई उद्यमका रूपमा अगाडि बढाउने योजना समेत बनाइसकेकी छन् ।
‘पहिले घरपरिवारभित्रै खानका लागि बनाइन्थ्यो । हाम्रो परिवारमा सानैबाट यो अचार बन्दै आएको थियो । पाहुनाहरूले स्वाद पनि मन पराउनुहुन्थ्यो’ उनले भनिन्, ‘मैले माछाको अचार व्यवसायिक रूपमा यहि एक्स्पोबाट सुरु गरेको हो । सबैबाट प्रतिक्रिया राम्रो आइरहेको छ । पा“च सय प्याकेट जति बिक्री पनि गरिसकेको छु ।’
आफ्नो स्टल अवलोकनमा पुग्नेहरूलाई उनले पहिले अचारको स्वाद चखाउ“छिन् । अनि स्वादबारे प्रतिक्रिया लिंदै भान्सामा यस्तो अचारको महत्वबारे बुझाउने प्रयास पनि गरिरहेकी हुन्छिन् ।
अचार बनाउन प्रयोग गरिएको माछा विराटनगरकै हाट बजारहरूबाट किन्ने गरेको उनले बताइन् । अचारलाई आफ्नै भान्जीको नामबाट ‘सीया अचार’ को ब्राण्ड दिएको जानकारी दिइन् । उनले एक्स्पो अवलोकनकर्ताहरूले अचार चाखेर राम्रो प्रतिक्रिया दिएकोले एक्स्पोपछि यसैलाई ब्राण्डिङ गरेर उद्योगका रूपमा अघि बढाउने बताइन् । एक्स्पोमा करीव चार सय स्टलहरू रहेका छन् । ठुला ब्राण्डदेखि साना, लघु तथा कृषि उद्यमीहरूका स्टलहरू रहेका छन् ।