भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’
२४ माघ २०७९, मंगलवार १३:१२
काठमाडौं । आज फेब्रुअरी ७ अर्थात् ‘भ्यालेन्टाइन डे’को पहिलो दिन। भ्यालेन्टाइन सप्ताह सुरु भएको पहिलो दिन अर्थात् ‘रोज डे’ हो। १४ फेब्रुअरीमा भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको रुपमा मनाइदै आएको छ। प्रणय दिवस साताको पहिलो दिन रोज डे प्रेमीले प्रेमिकालाई गुलाफको फूल उपहार दिने चलन छ। रातो गुलाफको फूललाई प्रेमको प्रतिक मानिन्छ। मायामा परेकाहरुले कसैलाई आफ्नो प्रेम दर्शाउन पर्यो भने गाढा रातो गुलाफको फूल दिएर आफ्नो मनको भावना पोख्ने गर्छन्। फूल आफैँमा सुन्दर वस्तु हो। ढकमक्क फुलेको फूलले मनमा छुट्टै आनन्द दिलाउँछ। त्यसमा पनि गुलाफलाई प्रेमको परिभाषा बोल्ने फूलको रुपमा चित्रित गरिन्छ। गुलाफको फूलमा पनि विभिन्न रंग हुन्छ। त्यसको पनि छुट्टै परिभाषा र मान्यता छ।
फेब्रुअरी ७ बाट सुरु हुने यस सप्ताहमा रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, किस डे, हग डे र अन्तमा फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन डे’ मनाइन्छ।
यस्तो छ इतिहास
विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए। सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।
आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।
जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए। उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया