कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुष खुवाएको वा खाएका अवस्था आए कारबाही हुन्छ: मोदी – Nagarikabhiyan : National News

कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुष खुवाएको वा खाएका अवस्था आए कारबाही हुन्छ: मोदी

विराटनगर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन ल्याउने विषय आफ्नो प्राथमिकता रहेको बताएका छन् । विराटनगरमा प्रेस सेन्टर मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । मन्त्री मोदीले संघीय संसदको यही अधिवेशनबाट पारित हुने गरी २ महिनाभित्रै उक्त ऐन संसदमा टेबल गर्ने आफ्नो प्रयास रहेको बताएका हुन ।
मोदीले उक्त ऐनमा कर्मचारीको हदम्याद ६० वर्ष गर्ने वा नगर्ने भन्ने विषय टुंगो नलागेको बताए । ‘म अध्ययनका क्रममा छु । ५८, ५९ या ६० वर्ष कुनै न कुनै त हुन्छ । सबै क्षेत्रसँगको छलफल र राजनीतिक दलहरुबीचको सुझावलाई लिएर त्यसको समाधान गरिन्छ । मैले यस विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि छलफल गरेको छु’, मोदीले भने ।

उनले स्थानीय तहको निमित्त दिने चलनको सकेसम्म अन्त्य गर्ने पनि बताए । उनले देशभरीको बरण्डामा बसेका, फाजिलमा बसेका सबै कर्मचारीको नाम लिष्ट लिइरहेको पनि बताए । ‘सबै ठाउँमा कर्मचारी पुर्याउने मेरो अभियान छ’, उनले भने, ‘हाम्रै मन्त्रालयमै क्रोनिक रुपमा वर्षौं वर्ष बसेका छन् । कोही ५ वर्ष कोही ७ बर्ष बसेका छन् । यसलाई हामीले सुधार गर्छौं । २ वर्षदेखि एउटै शाखामा रहेकालाई शाखा परिवर्तन गर्ने । ३ वर्षभन्दा माथि बसेका छन् भने अन्तै पठाउने । ४ वर्षभन्दा माथि एउटै ठाउँमा छन् भने उनीहरुलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने भन्ने विषयमा हामीले तयारी गरेका छौं । कार्यान्वयनको शिलशिलामा छौं ।’
उनले आफू सांसद हुँदा पनि कुनै कर्मचारीलाई यहाँ सरुवा गर्नुपर्यो त्यहाँबाट हटाइदिनुपर्यो नभनेको बताउँदै अहिले ठूला नेताबाटै आफूलाई दबाब आइरहेको बताए । उनले कर्मचारी सरुवा बढुवाको विषयमा कसैले घुष खुवाएको वा खाएका अवस्था आए कारबाही गर्ने पनि उनले बताए ।
मन्त्री पदमा नियुक्त भएपछि मोदी पहिलो पटक गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र मोरङ आएका हुन् । मोरङमा रहँदा उनले निर्वाचन क्षेत्रका जनतालाई धन्यवाद ज्ञापन गर्ने तथा कर्मचारी अधिकारीलाई आवश्यक निर्देशन दिने कार्यक्रम पनि रहेको छ । मन्त्री मोदी आइतबार काठमाडौं फर्किने बताइएको छ ।