प्रधानमन्त्रीको नाम हटाइयो, स्वास्थ्यमन्त्रीविरुद्ध मात्र अवहेलनाको निवेदन दर्ता – Nagarikabhiyan : National News

प्रधानमन्त्रीको नाम हटाइयो, स्वास्थ्यमन्त्रीविरुद्ध मात्र अवहेलनाको निवेदन दर्ता

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता भएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र स्वासथ्यमन्त्री ढकाललाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । तर, रिट दर्ता हुँदा प्रधानमन्त्री ओलीको नाम भने हटाइएको छ ।

सर्वोच्च अदालतले कोभिड १९ को उपचार निःशुल्क गर्न आदेश गरेपनि स्वास्थ्यमन्त्री ढकालले कार्यान्वयन नगरेको भन्दै निवेदन दर्ता भएको हो ।

अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले सर्वोच्च अदालतले कोभिड १९ को उपचार निःशुल्क गर्न आदेश गरेपनि उल्लंघन गरेको भन्दै निवेदन दिएका हुन् ।

असोज १५ गते सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नाममा कोभिड–१९ को सबै उपचार निःशुल्क गर्नु भनी परमादेश जारी गरेको थियो । तर, मन्त्रालयले उपचार शुल्क आफैं तिर्नु भनेको र सरकारी अस्पतालले समेत रकम तिर्नुपर्ने सूचना निकालेर परमादेशको अवज्ञा गरेको भन्दै निवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजाय गर्न माग गरिएको छ ।

अवहेलना निवेदन दर्तामा बिदाको मौका पारेर सर्वोच्च अदालतकै फैसलाविरुद्ध सरकारले उपचारमा शुल्क लिने निर्णय गरेको र यसो गर्नु सर्वोच्चको फैसलाको उल्लंघन र अनादर भएको भन्दै स्वास्थ्यमन्त्री ढकाललाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको छ ।