घर भाडामा लिनदिन सहज हुने वेभसाइट सार्वजनिक – Nagarikabhiyan : National News

घर भाडामा लिनदिन सहज हुने वेभसाइट सार्वजनिक

विराटनगर । सप्तरीका एकजना कम्प्युटर सव–इन्जीनियर विद्यार्थीले बनाको वेभसाइट सार्वजनिक गरिएको छ । बुधबार नेपाल पत्रकार महासंघ मोरङमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त वेभसाइट सार्वजनिक गरिएको हो ।

विराटनगरकै एक निजी क्याम्पसबाट अध्ययन गरेका सप्तरीका हिरालाल चौधरीले ‘एनपी रुम डटकम’ वेभसाइट र सोही नामबाट मोबाइल एप्लिकेसन समेत निर्माण गरेका हुन । उक्त वेभसाइटमार्फत कोठा भाडामा दिन र लिन सहज हुने बताइएको छ । वेभसाइट निर्माता चौधरीले आफूले निर्माण गरेको वेभसाइट निःशुल्क रूपमा प्रयोग गर्न सकिने बताए ।

उनले आफुले निर्माण गरेको वेभसाइटमा घरधनी आफुले भाडामा लगाउन चाहेको घरकोठाको विवरण र फोटो अपलोड गर्न सक्ने तथा कोठा लिन चाहनेले समेत आफ्नो विवरण भरेर घरधनीसँग सिधै सम्पर्क गर्न सक्ने बताए । आफुले निर्माण गरेको वेभसाइटबाट विशेष गरी रोजगारी र अध्ययनको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा बसोबास गर्न जाने व्यक्ति तथा कोठा भाडामा दिन चाहनेले लाभ लिनसक्ने उनले बताए ।

झण्डै दुई वर्षको परिश्रमपछि वेभसाइट र मोबाइल एप्लिकेशन निर्माण गर्न सफल भएको चौधरीले बताए । आफुले कमाउने उद्देश्यले नभई प्रविधिको उपयोगबाट कोठा भाडामा लिन र दिन सहज बनाउन वेभसाइटको निर्माण गरेको उनले बताए । झण्डै दुई लाखको लगानीमा वेभसाइट तथा एप्लिकेशनको निर्माण गरिएको उनले जानकारी दिए ।