पार्टी फुटाउने निष्कर्षमा कसरी पुगे केपी ओली? – Nagarikabhiyan : National News

पार्टी फुटाउने निष्कर्षमा कसरी पुगे केपी ओली?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने निष्कर्षमा पुगेका छन्। ओलीले अर्का अध्यक्ष प्रचण्डलाई पार्टी अलग गर्न प्रस्ताव गरेका छन्। उनले बहुमतले गरेको निर्णय नमान्ने पनि चेतावनी दिएका छन्।

एकता प्रक्रिया नटुंगिँदै अचानक ओलीले पार्टी विभाजनको कुरा अघि सारेपछि अहिले नेकपाको राजनीति तातिएको छ। ओली समूह पार्टी अलग गरेर पुरानै पार्टी नेकपा एमाले बनाउने गृहकार्यमा समेत लागिसकेको छ। यसका लागि माधव नेपाल समूहलाई पनि सहमतिमा ल्याउन नेताहरु खटिएका छन्।

ओलीका सल्लाहकारहरुले प्रदीप नेपालसँग भेट गरी माधव नेपाललाई ओलीसँग मिल्ने वातावरण मिलाइदिन अनुरोध गरिसकेका छन्। ओली निकट विष्णु पौडेलले पनि पार्टी फुट्ने अवस्थामै पुगेको संकेत गरेका छन्। यसबाट ओली समूह जसरी हुन्छ पूर्वमाओवादीबाट अलग्गिने मुडमा पुगेको प्रष्ट छ। तर धेरैको प्रश्न ओली एकाएक कसरी विभाजनको अवस्थामा पुगे भन्ने छ।

ओली पार्टी हठी, अरुको कुरा नसुन्ने र मनलाग्दी गर्ने नेताका रुपमा परिचित छन्। आफ्नो प्रतिकुल ओलीले सहँदैनन्। अहिले परिस्थितिको जड नेताहरुले कर्णालीको विवादलाई मानेका छन्। कर्णालीमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव प्रचण्ड र नेपाल समूहले असफल गरिदिए। यति मात्रै होइन प्रमुख सचेतक पनि हटाइयो। जो ओली समूहका थिए।

साथै नेपाल समूहका ३ जनालाई मन्त्री बनाउने सहमति भयो। जसले गर्दा ओली मन्त्री नहुने भए। यहाँको झट्काले केन्द्रसम्म हान्यो। ओली आफ्नो पराजय बर्दास नगर्ने नेता भएकाले उनले प्रदेशको बदला केन्द्रबाट पार्टी अलग गर्ने कुरा गरेर लिन खोजे। केन्द्रमा विवाद हुँदा आइतबार नै कर्णाली प्रदेशमा मन्त्रीहरुको हेरफेरको तयारी भए पनि अन्तिम समयमा रोकिन पुगेको थियो ।

कर्णालीमा प्रचण्ड पक्षले चाल्ने स्टेप हेरेर त्यसको काउन्टरमा ओली पक्षले अर्को कदम चाल्न सक्ने बुझेपछि मुख्यमन्त्री शाही तयारीबाट पछि हटेका हुन् । सोही कुरा बुझेर बालुवाटारमा ओलीले भावी स्टेपबारे निकटका नेताहरुसँग छलफल गरेका हुन् । तर, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी दुर्घटनामा पर्नसक्ने भन्दै आइतबार गर्ने भनेको मन्त्रीहरुको हेरफेर तत्काललाई स्थगित गरिसकेका छन् ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारका मन्त्रीहरु हेरफेर गर्दा आफ्ना पक्षका दुई मन्त्री हटाउन सक्ने ओली पक्षको बुझाइ छ । त्यसरी आफ्ना पक्षका मन्त्रीहरु हटाइए वा हट्न बाध्य पारेमा त्यसको काउन्टरस्वरुप नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङलाई हटाउने योजनाअनूरुप ओली पक्षले तयारी गरेको बुझिएको छ । तर मन्त्रिपरिषद पुनर्गठन नभएपछि केन्द्रमा पार्टी देखिने प्रत्यक्ष विवाद रोकिएको छ। र ओलीले कुरा नमिलेको भन्दै पार्टी नै अलग गर्ने निष्कर्षमा पुगेका हुन्। नेपालपानाबाट