प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेलाई सारियो
२६ पुष २०७९, मंगलवार १०:४८
काठमाडौं । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि तय गरिएको बैठक सारिएको छ। आजै दिउँसो १ बजे बस्ने गरी बैठकको समय सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए। कांग्रेसको आग्रहमा प्रतिनिधिसभाको बैठक सारिएको बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय लिने भनिएको कांग्रेस संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन। बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा नआइपुग्दा बस्न नसकेको हो।
अहिले सो पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ। बैठकबाट विश्वासको मतबारे निर्णय गरिने नेताहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले सोमबार देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गरेका थिए।आज प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया