धरान कार्यपालिका बैठकको एजेन्डा अस्पष्ट , बैठक बिना निस्कर्ष सकियो
२० पुष २०७९, बुधबार ०८:३४
धरान । पौष १९ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकको मुख्य एजेन्डा पौष २० देखि २२ मा मनाउने धरान डे को खर्च व्यवस्थापन थियो। २३ लाख २५ हजारको खर्च व्यवस्थापन गर्न पेस भएको प्रस्ताव सामान्य छलफल पछि सर्वसम्मतिले स्वीकृत गरे पछि मेयर हर्क साम्पाङका तर्फबाट उपमेयरले विविध प्रस्ताव अन्तर्गत उपमहानगरपालिकाले खरिद गरेका डोजर र रोलर प्रयोग गर्दा लगत ईष्टिमेटमा प्रयोग हुने दररेटका लागि प्रतिघण्टा २२०० तोक्ने प्रस्ताव प्रस्तुत गरे ।
सामान्य छलफल पछि प्रस्ताव सर्वसम्मतिले ताली पनि बज्यो। तर ,ताली बजे पछि ६ नम्बर वडाध्यक्षले प्रस्ताव प्रति विमति जनाए । उनले नगरको डोजर र रोलर नगर बासीको लागि हो,उपभोक्ता वा वडाले काम गराउँदा भाडा लिन नहुने तर्क पेस गरे । बिस्तारै पहिले हुन्छ भनेर सहमति जनाएका वडाध्यक्षहरू पनि भाडा लिन पाइन्न भनेर कस्सि कस्सी बोल्न लागे । १० नम्बरका वडाध्यक्षले त उठेर सर्वनाश नै हुन लागेका जस्तै गरेर भाडाको चर्को विरोध गरे । लामो रस्साकस्सी पछि यो एजेन्डा आजलाई स्थगित गरेँ भनेर मेयरले घोषणा गरे पछि स्थिति सहज बन्यो।
बैठकमा यस विषयमा बोल्न खोज्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई मेयर साम्पाङले इसारा गरेर बोल्न दिएनन् । विषय नगरको दररेट निर्धारण सम्बन्धी थियो र यो दररेट विना प्राविधिकहरूले लगत इष्टिमेट तयार गर्न सकिरहेका थिएनन् । यो दररेट पास भए प्राविधिकहरू लगत ईष्टिमेट गर्नमा जुट्ने र नगरकै डोजर रोलर प्रयोग हुने योजना महाशाखा प्रमुख सुरज श्रेष्ठको भनाइ छ । दररेट कायम गर्न पेस गरेको प्रस्तावलाई भाडा दर कायम गर्न पेस गरेको प्रस्ताव ठान्दा बैठक निष्कर्षमा पुग्न नसकेको र आफूलाई सो विषय स्पष्ट पार्न मौका नदिएको प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया