देवानगंज सहित तराई क्षेत्रमा बढ्यो चिसो – Nagarikabhiyan : National News

देवानगंज सहित तराई क्षेत्रमा बढ्यो चिसो

देवानगंज । देवानगंज सहित तराईका अधिकांश जिल्लामा मौसम परिवर्तन भएसँगै एक्कासि चिसो बढेको छ । दुई दिनदेखि शीतलहर तथा बाक्लो हुस्सुका कारण देवानगंजको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरले चिसो बढेपछि देवानगंजका अधिकांश चोक चौराहमा चहलपहल घटेको छ । कुहिरो सँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको देवानगंजका कालिचरन साहलेले बताए।

जाडो बढे पनि स्थानीय सरकार र स्थानीय प्रशासनले सार्वजनिक स्थल, चोक, मठमन्दिरमा दाउराको जोहो गर्न सकेका छैनन् । खास गरेर जाडोका कारण दलित, विपन्न, वृद्धवृद्धा, बालबालिका सबैभन्दा बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् । उनीहरूमा चिसोका कारण हुने बिरामी देखिएको छ ।

अत्यधिक चिसोका कारण प्रभावित बिरामी बढेका छन । चिसोका कारण स्थानीय स्वास्थय चौकीहरुमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्ने जस्ता रोगका बिरामी बढेको पाइन्छ ।

चिसोबाट बच्नका लागि देवानगंजको विभिन्न चौक चौराहा बजार क्षेत्रको साथै गाउँघरकामा दाउरा बाली आगो ताप्ने क्रम बढेको छ । चिसोकै कारण सवारीसाधनमा यात्रुको चाप समेत घटेको छ । चिसोले बिहानपख यात्रु नपाई कतिपय यात्रुवाहक सिटिरिक्सा, अटो घरमा थन्क्याइएको छ ।

एक्कासि अत्यधिक चिसो बढेपछि जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत न्यून देखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।