देवानगंज गाउँपालिकामा मानवअधिकार समूहका लागि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरु – Nagarikabhiyan : National News

देवानगंज गाउँपालिकामा मानवअधिकार समूहका लागि दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरु

देवानगंज । सुनसरी स्थित देवानगंज गाउँपालिकामा मानव अधिकार समूहका सदस्यहरु तथा अन्य सरोकारबालाहरुको लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

हालै गाउँपालिकामा गठन भएको समूहका नयाँ नेतृत्वलाई क्षमता विकास गर्नका लागि तालिमको आयोजना गरिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक विराटनगरले जनाएको छ ।

तालिममा इन्सेकका प्रदेश १ प्रमुख सोमराजा थापा, कार्यक्रम अधिकृत बागमी कट्टेल, राष्टिय मानव अधिकार आयोग प्रदेश १ अधिकृत गिता दाहाल सहितले सहजिकरण गरिरहनुभएको छ । समूहका सदस्यहरु र सरोकारबालाहरुले तालिम मानव अधिकारमैत्री काम गर्न उपयोगी भएको सहभागी मानव अधिकार समूहका अध्यक्ष राजकुमार मण्डलले जानकारी दिनुभयो । तालिममा समूहका उपाध्यक्ष मन्जु मेहता, सचिव विवेक कुमार मेहता, सहसचिव अशोक मण्डल, कोषाध्यक्ष गणेश मालाकार, सदस्यहरु मनोजकुमार चौधरी, समिना खातुन, रामकुमार पंडित, सुनरीदेवी सरदार, रामचन्द्र मेहता, राजीव उराँव, भुनेश्वर यादव, कवितादेवी ऋषिदेव, उमेश प्रसाद साह, मनोज मण्डल, वीन्दु मण्डल, रुवि कुमारी साह लगायतका ४० जनाको सहभागिता रहेका छन् ।

मानव अधिकार समूहले मानव अधिकारमैत्री काम गर्न सुझाव सहित अधिकार रक्षाको पक्षमा वकालत गर्दै सचेतनामुलक अभियान समेत गर्ने तालिमबाट प्रेरणा मिलेको जनाएको छ ।