श्रीलंका संकट : कोलम्बोस्थित सरकारी न्यूज च्यानलपनि प्रदर्शनकारीको कब्जामा – Nagarikabhiyan : National News

श्रीलंका संकट : कोलम्बोस्थित सरकारी न्यूज च्यानलपनि प्रदर्शनकारीको कब्जामा

पछिल्लो समय श्रीलंकामा आर्थिक मन्दी दिनानुदिन बढ्दै गएको छ । लाखौं मानिसहरु सडकमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति गोटाबाया राजपाक्षे देश नै छोडेपछि प्रधानमन्त्री निवासमा हजारौं जनताको भीड लाग्न थालेको छ ।

योसँगै श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावास पनि बन्द गरिएको छ । यसका साथै प्रदर्शनकारीहरुले श्रीलंकाको सरकारी न्यूज च्यानल रुपवाहिनीलाई कब्जा गरेका छन् ।

कोलम्बोको रुपवाहिनी च्यानलमा ठूलो भीड घुसेको छ, भने कार्यालय बाहिरबाट हजारौंले घेरेका छन् । सार्वजनिक भएका तस्वीरहरुमा केही प्रदर्शनकारीहरुले न्यूज च्यानलमा एन्करिङ गरिरहेका छन् ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स भागेपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको रूपमा घोषणा गरिएको छ । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले यस्तो जानकारी दिएका हुन् ।

रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको रूपमा घोषणा गरिएसँगै कोलम्बोमा हंगामा बढेको छ । जनताको आक्रोशलाई मध्यनजर गर्दै कोलम्बोमा कफ्र्यू लगाइएको छ ।

कार्यवाहक राष्ट्रपतिमा रनिल विक्रमासिंघेको नियुक्तिलाई लिएर प्रतिपक्षले प्रश्न उठाएको छ श्रीलंका आर्थिक संकटको आगोमा जलिरहेको अवस्थामा राष्ट्रपति गोटाबाया राजापाक्षे भने गोप्य रूपमा श्रीलंका छाडेका छन् । राष्ट्रपति गोताबाया राजापाक्षेले आज राजीनामा दिने घोषणा गरेका थिए ।