संविधानसभा सदस्य मानपुर चौधरीको कोरोनाबाट मृत्यु – Nagarikabhiyan : National News

संविधानसभा सदस्य मानपुर चौधरीको कोरोनाबाट मृत्यु

राजविराज । संविधान सभा सदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज दिउँसो मृत्यु भएको पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार सप्तरीको कंचनरुप नगरपालिका ४ जगतपुर निवासी संविधानसभा सदस्य चौधरीको उपचारका क्रममा धरानस्थित वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

ज्वरोबाट पीडित ५५ बर्षीय चौधरीलाई साँस लिन कठिनाई भएपछि असोज तेस्रो साता उपचारका लागि कोशी अस्पताल बिराटनगर लगिएको थियो ।

त्यसपछि घरमा नै बिरामी हुँदा कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीको निगरानीमा अक्सिजन लगाई उपचार गर्दा समेत साँस फेर्न गाह्रो भएपछि गत असोज २ गते राति थप उपचारका लागि उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

सोही दिन उनको स्वाब संकलन गर्दा असोज ३ गते रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चौधरी मधुमेह र उच्च रक्तचापबाट समेत पीडित थिए ।

दुई साताको अन्तरालमा दुई पटक कोरोना परीक्षण गराउँदा पहिलो पटक नेगेटिभ र दोस्रो पटक उनीमा पोजेटिभ देखिएको थियो ।

कोरोना रिर्पोट पोजेटिभ आएपछि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा उनको आज मृत्यु भएको कंचनरुप नगरपालिकाका नगरप्रमुख बसन्त कुमार मिश्रले बताउनुभयो ।

चौधरी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएका थिए । यो संगै सप्तरीमा हालसम्म कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।