गढीको वडामा पदभार ग्रहण – Nagarikabhiyan : National News

गढीको वडामा पदभार ग्रहण

सुनसरीको गढी गाउँपालिका वडा नम्बर ३ का नव निर्वाचित पदाधिकारीले विहीबार पदभार ग्रहण गरेका छन् । निर्वाचित वडा अध्यक्ष कुशेश्वर यादव सहित सबै वडा सदस्यहरुले गढी ३ नम्बर वडा कार्यालय छिटाहामा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण लगत्तै नव निर्वाचित वडा अध्यक्ष यादवले आफ्नो स्वबिबेकको प्रयोग गर्दै निर्वाचनमा सहभागी भई मतदान मार्फत वडाको नयाँ नेतृत्व निर्वाचित गरेकोमा वडावाशीहरुलाई धन्यवाद दिनुभयो । साथै वडाको सर्वाङ्गिण विकासका लागि आफूले सबैलाई समेटेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नव निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरे लगत्तै वडा भित्रका सबै गाउँटोलमा योजनाहरु माग गर्ने र आवश्यकताका अधारमा काम गर्ने विगतको क्रमागत कार्यलाई निरन्तरता दिने भएका छन् ।
नव निर्वाचित वडा अध्यक्ष सहित सबै सदस्यहरुलाई निवर्तमान वडा अध्यक्ष टुनालाल चौधरी, प्रमुख अथिति नेकपा एमालेका प्रदेश कमिटि सदस्य रामदेव यादव लगायतले शुभकामना दिनुभएको थियो । वडाको विकास र समृद्धिका लागि सबैसँग मिलेर सरसल्लाह र सुझावको आधारमा आगामी दिनमा निर्णय गर्ने वडाध्यक्ष यादवले बताउनुभयो । गढी–३ को वडाबासीले दिएको सल्लाह सुझावलाई पूर्ण क्षमताले भ्याएसम्म अनुसरण गर्दै वडाको विकासमा लागि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडाबासीको चाहना अनुसार विकासका गतिविधिहरुलाई द्रुत गतिमा लैजाने र पाँच वर्षमा समृद्ध वडा बनाउने संकल्प लिएको उहाँको भनाई छ ।
गढी–३ का नवनिर्वाचित वडा सदस्यहरु उमेश साह, सानोदेवी साह, इन्द्रादेवी ऋषिदेव, सुन्दरलाल चौधरीले समेत कार्यालयमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित वडा सदस्यहरुले समेत वडाबासीहरुलाई हार्दिक धन्यवाद दिदैँ आभार प्रकट गरेका छन् । जनताले दिएको अभिमतलाई कदर गर्दै पाँच वर्षे कार्यकाल सफल बनाउने र जनमुखी सेवा प्रवाह गर्ने प्रतिवद्धता समेत उनीहरुले व्यक्त गरेका छन् ।
जननिर्वाचितहरुलाई पदभार ग्रहण तथा स्वागत र निवतर्मान भएकाहरुलाई बिदाई कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका १ नम्बर प्रदेश कमिटि सदस्य रामदेव यादवले विकासका लागि सबैको साथ , सहयोग र हातेमालो आवश्यक रहेको बताउनुभयो । यादवले निर्वाचनमा प्रतिस्प्रधा हुनु लोकतान्त्रिक प्रकृया भएको तर निर्वाचित भएपछि पार्टीको नभई साझाँ प्रतिनिधिको रुपमा काम गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रम संचालक वडा सचिव सत्रुधन प्रसाद श्रेष्ठले निवर्तनमा जनप्रतिनिधिहरुलाई सम्मान सहित विदाई गरिएको बताउनुभयो ।