सुनसरीको देवानगञ्जमा जसपाका मेहता विजयी, उपाध्यक्षमा काग्रेंसका यादव – Nagarikabhiyan : National News

सुनसरीको देवानगञ्जमा जसपाका मेहता विजयी, उपाध्यक्षमा काग्रेंसका यादव

सुनसरीको १२ स्थानीय तह मध्ये देवानगञ्ज गाउँपालिकामा जनता समाजवादी पार्टीबाट अध्यक्षका उम्मेदबार बेचन प्रसाद मेहता र उपाध्यक्षमा नेपाली काग्रेंसका उम्मेदबार कुमारी विभा यादव विजयी हुनुभएको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार मेहताले ६ हजार ८ सय ७४ मत ल्याएर विजयी हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसकी कुमारी विभा यादवले ६ हजार १ सय १२ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
जसपाका मेहताले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका श्यामलाल मेहतालाई पाँच सय १६ मतान्तरले जराजित गर्दै विजयी हुनुभएको हो । श्यामलाल मेहताले ६ हजार ३ सय ५८ मत प्राप्त गरी पराजित हुनुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसकी कुमारी विभा यादवको प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीकी आशमनी कुमारी यादवले ६ हजार ९७ मत प्राप्त गरी १५ मतले पराजित हुनुभएको छ ।
गत स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी पार्टीबाट पालिकाको अध्यक्षमा बेचन मेहता नेपाली कांग्रेसका उम्मेदवार लाली प्रसाद मेहतासँग पराजित हुनुभएका थियो । जनताको मन जित्दै पाँच वर्षमा संगठन निर्माण गरेर यस पटकको स्थानीय तहको निर्वाचनमा मेहता बिजयी हुनुभएको हो ।
सुनसरीको १२ स्थानीय तह मध्ये यस पटकको निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार मेहताले पहिलो अध्यक्ष निर्वाचित हुनुभएको छ ।
यस देवानगंज गाउँपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्य नारायण पाल, वडा नम्बर–२ मा नेकपा एमालेका जगनारायण मेहता, वडा नम्बर–३ मा जसपाका अनिल भगत, वडा नम्बर–४ जसपाका सुशिल मेहता, वडा नम्बर–५ मा नेकपा एमालेका मनोज कुमार मण्डल, वडा नम्बर–६ मा जसपाकै हरिनन्दन मेहता, वडा नम्बर–७ मा जसपाका सूर्य नारायण यादवको प्यानल सहित निर्वाचित भएको छ ।