प्रदेश सांसद अभिषेक यादवलाई कोरोना पुष्टि
२५ आश्विन २०७७, आईतवार १९:२१
राजविराज । सप्तरी क्षेत्र नम्वर ४ (क) का प्रदेश सांसद अभिषेक यादव कोरोना संक्रमित हुनुभएको छ ।
उहाँको रिपोर्ट पोजेटिभ आएपनि स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश सांसद यादवले आफ्नो सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गराउन आग्रह गर्नुभयो ।
उहाँले समाजिक सन्जाल फेसबुक मार्फत लेखेका छन–‘आदरणीय मित्रहरु तपाईहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वंयम कोरोनाको संक्रमणको चपेटामा परेको छु, मेरो रिपोर्ट पोजेटिभ आएको छ । मसँग कन्ट्याक्टमा रहेका मित्रहरुलाई कोरोना टेष्ट गराउनु आग्रह छ भन्नुभयो ।
यस्तै राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकका १३ जना कर्मचारीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार बैकका १३ जना कर्मचारी, रुपनी गाउँपालिकाका ११ जना र राजविराज नगरपालिकाका एक जना गरी २५ जनामा कोरोना पुष्टि भएकोे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय बाणिज्य बैंक लिमिटेड शाखा राजविराजमा कार्यरत राजविराज नगरपालिका वार्ड नम्बर १ का २३ वर्षीया महिला, सोही वार्डका उमेर नखुलेका पुरुष, ४० वर्षीय पुरुष, २३ वर्षीय पुरुष, उमेर उल्लेख नभएको महिला, डाक्नेश्वरी नगरपालिका ९ का १२ वर्षीय पुरुष, ३२ वर्षीय पुरुष, वार्ड नम्बर ७ का २४ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका ७ का २२ वर्षीय पुरुष, रुपनी गाउँपालिका ६ का ३८ वर्षीय पुरुष, मोरग जिल्लाका ३१ वर्षीय पुरुष, र उदयपुर जिल्लाका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया इन्सपेक्टर नारायणप्रसाद राउत बरैले जानकारी दिनुभयो ।
यससँगै जिल्लामा कुल संक्रमितको संख्या एक हजार ३८७ पुगेको छ भने एक हजार ११२ जना निको भएर घर फर्किसकेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया