बराहक्षेत्रमा मतगणना स्थगित
१ जेष्ठ २०७९, आईतवार १७:१४
इनरुवा, जेठ १ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा विवादका कारणले मतगणना स्थगित भएको छ । बराहक्षेत्र वडा नम्बर १ को एक हजार सात सय मत गणना भइसकेपछि आईतबार प्रमुख पदको स्थानमा हसिया हथौडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नुपर्ने माग राखेपछि मतगणना स्थगित भएको हो । बराहक्षेत्रमा गठबन्धन दलका तर्फबाट प्रमुखमा कांग्रेसका रमेश कार्की र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमित गौतम उम्मेदवार रहनुभएको छ । माओवादीले उम्मेदवार नै नउठाएको अवस्थामा मतपत्रमा प्रमुखको स्थानमा रहेको हसिया हथौडामा पनि मतदाताले छाप लगाएकाले उक्त मतलाई पनि गठबन्धनको नाममा गणना गर्नुपर्ने माग भएकाले विवाद भएको हो । पछिल्लो परिणामअनुसार एमाले उम्मेदवार निलम खनालले ६७८, गठबन्धन दल कांग्रेसका रमेश कार्कीले ५७२, स्वतन्त्र रामबहादुर विष्टले ११५ मत ल्याउनुभको छ । उपप्रमुखमा एमालेका नन्दकुमारी सुनुवारले ७११, गठबन्धन माओवादी केन्द्रका अमित गौतमले २५६ मत प्राप्त गरेका छन् । विवाद समाधानका लागि दुवै पक्षवीच छलफल गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दलहरु बीचको असमझदारीका बीचमा समझदारी र समाधानका लागि छलफल गर्ने तयारी भएको बताउनुभयो । यादवले विवाद समाधान भएपछि पुनः मतगणा सुरु हुने प्रतिकृया दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया