मंहगीको मारमा सुनसरीका मजदुर – Nagarikabhiyan : National News

मंहगीको मारमा सुनसरीका मजदुर

इनरुवा । सुनसरीमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुलाई मंहगी बढेको कारण घर परिवार चलाउन कठिन भएको बताएका छन् ।

कोरोना भाइरसको प्रभाव सँगै मौसमी वर्षाका कारण दैनिक ज्यालादारीमा कामकाज गरी घरपरिवार चलाउदैँ आएका कामदारहरुको गुजारा चलाउन कठिन स्थिती सृजना भएको मानव अधिकार समुह भोक्राहा नरसिंह गाउँपालिकाका सह सचिव रञ्जित रामले जानकारी दिए ।

सह सचिव रामका अनुसार दैनिक ज्यालादारीमा काम गर्ने कामदारको दैनिक न्यून्तम पारिश्रमिक ३ सय २५ र मंहगी भत्ता १९२ गरी ५ सय १७ भएपनि आम्दानी भन्दा खर्च बढी रहेको बताए । उनले भने दैनिक ज्यालामा काम गर्ने कामदारहरुले अहिलेको मँहगी अवस्थामा न त आफ्ना छोराछोरीहरुलाई गुणस्तरीय शिक्षा दिन सक्छन् न त उनीहरुले ताजा तरकारी तथा उपभोग्य खाना नै खान पाउँछन् ।

कोरोनाको कहरले विश्व नै जुधिरहेको बेला हाल सुनसरीमा दैनिक ज्यालादारीमा काम गर्ने कामदारहरुले ताजा तरकारी, साग सब्जी, फलफुल, माछा मासु र दुध दही लगायतका दैनिक मानवीय उपभोगीय खानेकुरा खान मजदुरको दैनिक पारिश्रमिक ५ सय १७ रुपैयाँ असम्भव रहेको उनले बताए ।