सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने – Nagarikabhiyan : National News

सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने

सत्तारुढ ५ दलीय गठबन्धनले सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने भएको छ ।सुनसरी जिल्लामा तालमेलको निर्णय गर्न कांग्रेस सचिव विरेन्द्र साह, माओवादीका मुक्साहाङ मेन्याङ्बो, नेकपा एसका सचिव वसन्त सुवेदी, जसपाका सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकरी रहेको कार्यदल गठन भएको छ । कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।पाँच दलीय गठबन्धनबाहेक अरुसँग तालमेल नगर्ने र संयुक्त घोषणापत्र प्रकाशन गरि वडा तहसम्मै संयुक्त चुनाव प्रचार-प्रसार गर्ने सहमति समेत भएको छ ।२०७४ को निर्वाचनमा स्थानीयदेखि संघको चुनावी गणितले प्रदेश १ को सबैभन्दा धेरै नेपाली कांग्रेसको प्रभाव क्षेत्र देखिएको सुनसरीमा अन्यत्रभन्दा एक कदम अघि बढेर वडा सदस्यदेखि नै तालमेल हुने भएको हो ।बुधबार नेकपा एसको पार्टी कार्यालयमा बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेस सुनसरी सभापति केदार भण्डारी, माओवादी केन्द्रका सुनसरी संयोजक योगेन्द्र प्रशाद मण्डल, नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की र राष्ट्रिय जनमोर्चा सुनसरी प्रतिनिधि हरिलाल अधिकारीले एक संयुक्त विज्ञप्तिमार्फत गठबन्धनको घोषणा गरेका हन् ।सुनसरीका ४ संघीय क्षेत्रमा नेपाली कांग्रेसले वाम गठबन्धनविरुद्ध लडेर तीन ठाउँमा जितेको थियो ।