कोशीका वडाध्यक्ष र सचिवहरु नबसेपछि सेवाग्राही मारमा – Nagarikabhiyan : National News

कोशीका वडाध्यक्ष र सचिवहरु नबसेपछि सेवाग्राही मारमा

इनरुवा । कोशी गाउँपालिकाका वडाध्यक्ष र वडा सचिवहरु कार्यालयमा नबस्दा सेवाग्राहीहरु सामान्य कामको लागि समेत सास्ती बेहोर्न बाध्य भएका छन् । कोशीका आठवटै वडाका वडाध्यक्ष तथा वडा सचिवहरु कार्यालयमा कार्यालय समय सम्म नबस्दा सेवाग्राहीहरु रित्तै फर्कन बाध्य भएको गुनासो आएको छ ।

वडाध्यक्षहरु सरकारी सेवा सुविधा लिएर पनि दिनभर आफनो घरकाम र ब्यक्तिगत लाभको काममा ब्यस्त हुने भएकाले सेवाको लागि जाने सेवाग्राहीहरु रित्तै फर्कन बाध्य भएका हुन् । कतिपय वडाध्यक्षहरु हप्तोसम्म वडा नआउँदा बिभिन्न सिफारिस र योजना कार्यान्वयनमा बाधा पुगेको स्थानीयहरुले बताएका छन् ।

आइतवार गाउँपालिका कार्यालय सँगै बिभिन्न ६ वटा वडामा मानव अधिकार समुहले गरेको अनुगमन र निरिक्षणको क्रममा वडाध्यक्ष र वडा सचिवहरु नियमित नबसेको गुनासो सेवाग्राहीहरुले सुनाएका छन् । सरकारी दस्तुर तिरेर समेत समयमा सेवा नपाएको सेवाग्राहीहरुले समुहका पदाधिकारीहरुसँग गुनासो पोखेका हुन् ।

सरकारले जनताको सेवा छिटो छरितो होस् भनेर प्रत्येक पालिकालाई आफनो श्रोत साधन अनुसारको बजेट ब्यवस्था गरेको छ । तर कार्यान्वयन गर्ने जनप्रतिनिधिहरु इमान्दार नभइदिदाँ सेवाग्राहीहरु सास्ती खेप्न बाध्य भएको कोशी गाउँपालिकाका हरेराम यादवले गुनासो पोख्नुभयो ।

गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष राजकुमार साह दुर्घटनामा परेर घरमा बिश्रामका लागि बस्नुभएको छ भने वडा नम्बर २ का कार्यवाहक वडाध्यक्ष द्रोपति साहले समेत कार्यालयमा समय नदिएको पाइएको छ । वडा नम्बर ३ का वडाध्यक्ष सुलेमान मंसुरी केही दिनदेखी बिराटनगरमा रहेको भन्दै कार्यालयमा नआएको एक कर्मचारीले बताएका छन् ।

मंसुरीले वडाको आठ लाख रुपैयाँ सञ्चालन खर्चको बजेट एक्लौटी चलाएर पनि जनतालाई समयमा सेवा दिएका छैन भने कार्यालय बाहिर गएर कार्यवाहक र सुचना पार्टीमा सुचना समेत नलेखी अन्याय गरेको सेवाग्राही रहिस मियाँले गुनासो गर्नुभयो । वडा नम्बर ३ कै वडा सचिव रुद्र नारायण मेहता कार्यालयमा दिउँसो १ बजेपछि मात्रै आउने गरेको पाइएको छ ।

कार्यालय खुलेको भएपनि वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष दिउँसो सम्म बन्द रहेको अनुगमनमा रहेका समुहका सदस्यले बताएका छन् । अनुगमनका क्रममा वडा सचिव मेहताले आफु अस्वस्थ्य रहेकोले ढिलो आएको तर सेवामा कुनै बाधा अवरोध नभएको प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी वडा नम्बर ५ का वडाध्यक्ष साहजमाल र वडा सचिव रामसेवम महतो कार्यालयमा नबसी आफनै कार्यमा ब्यस्त रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष जमाल ठेक्कापट्टा र आफनै घर बनाउनमा ब्यस्त रहेको पाइएको छ भने सचिव महतो घरकामले सिराहामा रहेको त्यहाँका कार्यालय सहयोगीले प्रतिक्रिया दिएका छन् ।

त्यसैगरी ४, ६,७ र ८ नम्बर वडामा समेत त्यस्तै रवैया रहेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवा लिनका लागि आएका सेवाग्राहीहरु कर्मचारी ब्यवहार र वडाध्यक्षको अनुउपस्थितीले सास्ती खेप्न बाध्य रहेको स्थानीय सेवाग्राही बैधनाथ यादवले गुनासो गर्नुभयो ।