दलहरु टोल कमिटि गठनमा व्यस्त
२७ फाल्गुन २०७८, शुक्रबार १९:१०

सुनसरीमा प्रमुख दल सहित विभिन्न दलहरु टोल कमिटि गठनमा व्यस्त बनेको छ । नेकपा एमालेले १२ स्थानीय तहको १२४ वटै वडामा टोलभेला, प्रशिक्षणमार्फत चुनावी तयारीमा जुटेको छ ।
नेकपा एमालेले आफ्नो नेता कार्यकर्तालाई थप प्रशिक्षण गर्दै अन्य पार्टीका कार्यकर्तालाई आफूतिर प्रवेश गराउने कार्यलाई तिव्र पारेको छ । पार्टीका जिल्ला उप सचिव राम कोईरालाका अनुसार पार्टीले एउटा वडामा कममा ५ वटा टोल कमिति र बढीमा २५ वटासम्म टोलकमिटि गठन भएको छ ।
वडाको टोलटोलमा पार्टीको टोल कमिटि सहित भातृ संस्थाहरुको पनि भेला, प्रशिक्षण र कमिटि गठनको काम भएको जानकारी दिनुभयो । त्यसैगरी नेकपा माओवादी केन्द्र सुनसरीले पनि पार्टीको नगर तथा गाउँपालिकामा सेल र टोलसम्म जनवर्गीय संगठन गठन, कमिटि , उपकमिटि गठनको लागि भेलालाई तिव्र पारिएको छ । पार्टीका नेताकार्यकर्ता गाउँगाउँमा खटिएको पार्टीका संयोजक योगेन्द्र मण्डलले जानकारी दिनुभयो । नेपाली कांग्रेसले पनि सबै पालिकाको वडा र टोलटोलमा पार्टीको वडा कार्यालय स्थापना गरेसँगै कार्यकर्ताहरूलाई विभिन्न जिम्मेवारी दिएर चुनावी अभियानमा व्यस्त भएको जनाएको छ ।
यसैबीच इनरुवा नगरपालिका ९ बबियामा विभिन्न टोलमा माओवादी केन्द्र, एमाले र काग्रेंसले शुक्रबार एकसाथ कार्यक्रम गरेको छ । नगरपालिका ९ बबिया शुक्रबारे टोलमा नेकपा माओवादी केन्द्रले कार्यकर्ता तथा टोल भेला सम्पन्न गरेको छ । भेलामा सहभागीहरु मध्ये सिताराम खत्वेको अध्यक्षतामा शुक्रबारे टोल कमिटि गठन गरेको नेकपा माओवादी केन्द्र इनरुवा अध्यक्ष तोया गिरी पौद्धारले जानकारी दिनुभयो । पौदारका अनुसार टोल कमिटि सचिवमा आशादेवी खत्वे, सदस्यहरुमा कलिया खत्वे, कोशिला खत्वे, पावर्ती खत्वे, फलेश्वरी खत्वे, जलेश्वरी खत्वे, राधिया खत्वे, मुनेश्वरी खत्वे, हरेराम खत्वे, सकुन्तला खत्वे, कृष्ण खत्वे, अम्बिका खत्वे, समुन्द्रा शर्मा सहित १९ सदस्य टोल कमिटि गठन भएको छ । कार्यक्रममा पार्टी नगर उपाध्यक्ष मोख्तार आलम, सदस्य सुक्रा खत्वे सहितका नेताहरुको उपस्थिीति रहेको थियो ।
यसअघि नै वडा, गाउँ तथा नगर अधिवेशन सकेको नेकपा एमाले पनि इनरुवा ९ बबियामा टोल भेला सम्पन्न गरेको वडा अध्यक्ष बसिरमुदिन मंसुरीले जानकारी दिनुभयो । नेपाली काग्रेंस बबियाले पनि शुक्रबार टोल भेला सम्पन्न गरेको विभिन्न गतिविधि गरिरहेको काग्रेंसका वडा अध्यक्ष लक्ष्मी चौधरीले बताउनुभयो । पछिल्लो पटक लामो समय गुपचुप जस्तै बनेका राजनीतिक दलहरू चलायमान बनेका छन । पार्टीको संगठन निर्माण, गठन, पुनर्गठन तथा भेला, भातृ संस्थाको सम्मेलनमार्फत राजनीतिक दल सक्रिय बनेका हुन । भेला, प्रशिक्षणमार्फत दलहरू आफ्ना कार्यकर्तालाई थप प्रशिक्षित गर्दै छन् भने अन्यलाई आफूतिर तान्ने कोशिस पनि गरिरहेका छन । पार्टी प्रवेशका लागि व्यक्तिगत, सामूहिक छलफलसमेत गरिरहेका छन । हरेक गाउँमा हरेक दिन दलका कुनै न कुनै कार्यक्रम भइरहेका छन । जसमा उसैगरी केन्द्रदेखि स्थानीयसम्मका नेताहरू परिचालनसमेत भइरहेका छन । ‘निष्क्रिय रहेकालाई सक्रिय बनाउने र नयाँ समिति गठनलाई पनि दलहरूले प्राथमिकतामा राखेका छन् ।‘बाहिर पार्टीका गतिविधि देखिए पनि यो निर्वाचनकै तयारी हो ।’इनरुवा नगरपालिका–९ का जसलाल यादवले दलका नेताहरू गाउँमा देखिनुको कारण चुनाव नै भएको बताउनुभयो ।
एमालेका इनरुवा नगर अध्यक्ष प्रेम पौडेलले संगठन विस्तार, टोल कार्यसमिति गठन, प्रशिक्षणलगायत काम भइरहेको बताउनुभयो । सार्थक र चुनावी सन्देश दिन गाउँमा कार्यकर्ता खटाएको पौडेलको भनाई छ । काग्रंसेसका नगर सभापती राजन मेहताले विस्तारै चुनावी गतिविधि बढ्दै गएको बताउनुभयो ।
एमाले जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले जिल्ला अधिवेशन सकिएपछि गाउँ केन्द्रीत भएको र टोलटोलमा कमिटि गठनको काम भएको बताउनुभयो । पार्टीका आन्तरिक अभ्यासहरू सबैजसो टोल र गाउँमा भइरहेको जनाउनुभयो । ‘हाम्रा गतिविधिले पार्टी र जनवर्गीय संगठनलाई नयाँ ताजगी दिएको छ,’ उहाँले भन्नुभयो, ‘जिल्लास्तरीय नेताहरूगाउँटोल र वडामा चुनावी अभियानका लागि केन्द्रित गरेकाछौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया