बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम सम्पन्न
१० फाल्गुन २०७८, मंगलवार १८:१५
सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिका ६ घुस्कीमा बाल विवाह र दाईजो प्रथा विरुद्धको दुई दिने अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सोमबार सुरु भएको बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रमको सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको नेपाल वेलफेयर सोसाईटी भुटाहाले जनाएको छ । बाल विवाह र दाईजो प्रथा विरुद्ध कार्यक्रम हरिनगर गाउँपालिका ६ नम्बर वडा कार्यालय घुस्कीको सहयोगमा नेपाल वेलफेयर सोसाईटी भुटाहाको आयोजनामा सम्पन्न भएको वडा अध्यक्ष इसराईल अंसारीले जानकारी दिनुभएको छ । सम्पन्न कार्यक्रममा पत्रकार तथा इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जिल्लामा व्याप्त बाल विवाह र दाइजो प्रथालाई लक्षित गर्दै समुदायमा यसप्रकार विविध कार्यक्रम संचालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कार्यक्रम सोसाईटीका मोजोमिल अहमदको अध्यक्षता र हरिनगर ६ का वडा अध्यक्ष इसराईल अंसारीको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा घुस्की स्थित विभिन्न राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैर–सरकारी संस्थाका प्रमुखहरु, संचारकर्मी, शिक्षक, स्वास्थ्यकर्मी, गाउँमा गठन भएका विभिन्न समितिका संयोजक तथा पदाधिकारीहरु लगायत सर्वसाधरण गरी करिव ३५ जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पत्रकार यादवले प्रशिक्षण दिदै बाल विवाह तथा दाइजो प्रथा विरुद्ध बृहत सचेतनामूलक कार्यक्रमको औचित्यका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम मार्फत बाल विवाह गर्नु, गराउनु गैर कानुनी कार्य भएको र बाल विवाह गर्दा उत्पन्न हुने असरहरुका बारेमा र काननी कार्वाहीको बारेमा जानकारी गराउनुभएको थियो । सानो उमेर छोरीको विवाह गर्ने प्रचलनले निमत्याउने परिस्थिति झल्काउने विभिन्न उदाहरणहरु समेत प्रस्तुत गर्नुभएको थियो । यादवले कार्यक्रमको अवधारणा र बाल विवाह विरुद्धको कार्यक्रम गर्नुको उद्देश्यवारे प्रष्टयाउनु भएको थियो । बाल विवाह तथा दाइजो प्रथा न्यूनीकरण गर्न अभिभावक, शिक्षक, जनप्रतिनिधि वा प्रहरी एक्लैले मात्र नसक्ने हुँदा सर्वपक्षीय प्रयास हुनु पर्नेमा जोड दिएका थिए । त्यसैगरी कार्यक्रममा बोल्दै सोसाईटीका सेराज फलाहीले यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक सन्देश जाने, थोरै भएपनि बाल विवाह न्यूनीकरण हुने अपेक्षा राखेको बताएका थिए । फलाहीले ग्रामीण क्षेत्रमा हुने बाल विवाह नियन्त्रण, त्यसका विरुद्ध सचेतना वृद्धि गर्ने, अविभावकलाई जागरण गराउने र बालविवाहको उजुरी प्रहरी समक्ष गर्ने पद्धती विकास गर्ने मुल उद्देश्यका साथ आयोजित कार्यक्रम आगामी दिनमा समेत निरन्तर संचालन गरिने जनकारी गराउनुभएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया