कोरोना रोकथाम र नियन्त्रणका लागि चालेको कदम उराठलाग्दो छैन : प्रधानमन्त्री
३ आश्विन २०७७, शनिबार ११:५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिबार सैनिक मञ्च टूँडिखेलमा आयोजिक विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
कोरोना संक्रमण हुनुपूर्व नेपालमा स्वास्थ्य क्षेत्रको पूर्वाधार कमजोर रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अहिले त्यसमा उल्लेख्य वृद्धि र सुधार भएको बताएका छन् ।
पहिलो संक्रमितको पहिचान गर्न स्वाबको नमुना विदेश पठाउनु परे पनि अहिले सरकारी र निजी गरी ४७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुने र पछिल्लो समय दैनिक करिब २३ हजार नमुना परीक्षण गर्न सकिने प्रयोगशाला स्थापना गरिएको उनले बताए ।
शुरुमा एउटा नमुना परीक्षण गर्न ८ हजार ५ सय रुपैयाँसम्म लाग्ने गरे पनि अहिले २ हजार रुपैयाँमा परीक्षण हुने बताउँदै उनले कोरोना महामारीका कारण सरकारले गौरवका आयोजनाहरु पूरा गर्न नसकेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया