सुकुम्वासी समस्याका लागि सरकार गम्भिर बन्नुपर्ने माग
३१ भाद्र २०७७, बुधबार १५:०९
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सुकुम्वासीहरुले आफूहरुको आवास अधिकार सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । सुकुम्वासीहरुको आफनै घरजग्गा नभएकाले समस्यामा रहेको भन्दै सुकुम्वासी समस्याका लागि सरकार गम्भिर बन्नुपर्ने माग गरेका हुन् ।
सुकुम्वासीहरुको शिक्षा, स्वास्थ्य र खाद्यय अधिकार समेत सुकुम्वासी भएकै कारण गुमेकाले सुकुम्वासी समस्या समाधानका लागि सरकारले ध्यानदिनुपर्ने उनीहरुले माग गरेका छन् । बुधबार सुनसरीको भोक्राहा नरसिंहमा आयोजित अधिकार सम्बन्धी कार्यक्रममा सुकुम्वासी परिवारकी लहरी उराँवले आफुहरुको गाँस वास सहित मानव अधिकारको सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
उराँवले जग्गा नभएकाले राम्रो घर बनाउन नसकेको , घरै नभएपछि शौचालयको ब्यवस्था गर्न नपाएको , धनी पुर्जा नभएकाले घर नजिकै बिजुलीको पोल र तार भएपनि विधुत बाल्न नपाएको गुनासो गर्नुभयो ।
सुकुम्वासीको लागि सरकारले वास्ता नगर्दा शिक्षा, स्वास्थ्य र खानेपानीको समेत अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको उराँवको गुनासो रहेको छ । भोक्राहा नरसिंह गाउँपालिका ४ सुनसरी खोला डिलका दलित बस्तीकी सितिया सदाले समेत आफुहरुको जीवन सुकुम्वासी भएकै कारण प्रारम्भिक कालकै जस्तो रहेको गुनासो सुनाउनुभयो । सदाले आफूहरु कमाएपछि खाने मात्रै जात भएकाले सबैले हेप्ने गरेको गुनासो गर्नुभयो ।
सदाले आफूहरु लाई बसेको ठाउँमा धनीपुर्जा उपलब्ध गराउनु पर्ने , आवासको लागि घर निर्माण गरिदिनुपर्ने, शौचालय र बिजुलीको ब्यवस्था गरिदिनुपर्ने माग गर्नुभयो । त्यसैगरी स्थानीय निरो मण्डलले समेत सुकुम्वासीहरुको पहिचान गरी उनीहरुको समस्या समाधान गर्न तर्फ सरकारको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया