देवानगंजमा हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न – Nagarikabhiyan : National News

देवानगंजमा हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न

देवानगंज । सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिकामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरिएको छ । कान्तिपुर स्कुलको प्राङ्गणमा मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको अवसरमा हिन्दू स्वयम्सेवक संघ नेपाल देवानगंज गाउँपालिका कार्यसमिति को आयोजनामा सामुहिक खिचडी कार्यक्रम सम्पन्न गरिएको हो ।

समता ममता र समारसत्तको पर्व मकर संक्रान्तिको पावन अवसरमा आयोजित खिचडी कार्यक्रम तथा उत्सवमा सयौँ नगरबासीहरुको उपस्थिती रहेको आयोजक समितिका नगर कार्यवाह मनमोहन यादवले जानकारी दिनुभयो ।

प्रमुख अतिथि किसुनदेव मेहताले मकर राशी माघे संक्रान्ति प्रवेशलाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिने र त्यसमा पनि खिचडीको विषेश महत्व भएकाले खिचडी कार्यक्रम उपयुक्त भएको बताउनुभयो । संस्कार र स्वास्थ्य संग समेत जोडिएको खिचडी कार्यक्रमले एकआपसमा जोड्ने र सम्बन्ध विस्तार गर्ने काम समेत गरेको बताउनुभयो ।

विशिस्ट अतिथि देवनन्दन मेहताले आपसी सद्भाव, एकता र भातृत्वका लागि खिचडी कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । सह राष्टिय धर्म जागरण प्रमुख कौसल किशोर कर्णले हिन्दु धार्मिक आस्था राख्नेहरुलाई एकतामा बाधनका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । पूर्वी सम्मभाग कार्यवाह रतन चौधरीले धार्मिक कुराले संस्कार सिकाउने भएकाले सबैलाई आफ्नो धर्म रक्षा र संस्कार संस्कृतिमा बाधिन आग्रह गर्नुभयो ।

विशिस्ट अतिथि हिन्दू स्वयम्सेवक संघ नेपालका शारिरिक प्रमुख बुधनारायण यादवले देशका अन्य ठाउँमा संक्रान्ती पर्वलाई जे नाउँ दिए पनि मिथिलामा तिला संक्रान्ति पर्वका रूपमा मनाउँने गरेको र यसमा अनुशासन तथा अज्ञाको पालन समेत सिकाउने भएकाले पर्वको महत्व रहेको बताउनुभयो । यादवले यस पर्वमा परिवारका अग्रज र आमाबाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने वचन लिने गरेको प्रसंग उल्लेख गर्नुभयो ।यादवका अनुसार सन्तानले सेवा गर्ने र हरेक आदेश पालना गर्ने भनेर तिलेतिले बहविहि अर्थात जहिने काम गर्ने आज्ञा मान्ने बचन दिएपछि तिल र शख्खरको मिश्रण प्रसादका रूपमा अभिभावकले दिने गर्छन् र सोही अवसरमा सन्तानहरूले ढोगेर आशिर्वाद प्राप्त गर्छन् ।


कार्यक्रममा जिल्ला कार्यवाह भरत प्रसाद मेहता, गुलावचन्द मेहता, सन्तकुमार मेहता, हरिनगर गा. पा. कार्यवाह ब्रहमदेव मेहता, स्वयमसेवक विक्रम मंडल लगायत को उपस्थिती रहेको थियो । खिचडी कार्यक्रम हिन्दू स्वयम्सेवक संघ नेपाल देवानगंज संघचालक नन्दकिशोर मेहताको अध्यक्षतामा सम्पन्न भएको गियो।

खिचडी कार्यक्रममा भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, तिलको लड्डु, वस्त्र, पानीको भाँडासहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुने उल्लेख गरेको पनि वत्ताहरुले चर्चा गरेका थिए । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ–आफ्ना यजमानकहाँ गई मैना सुनाउँछन् । संक्रान्तिका दिन स्नान गरी तिलको आगो ताप्नाले वर्षभरिको पाप पखालिन्छ भन्ने मान्यता पनि रहेको धार्मिक जानकार बलराम यादवले बताउनुभयो । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो ।