मूल नाकामा कडाइ, अन्य नाकाबाट खुलेआम आवतजावत – Nagarikabhiyan : National News

मूल नाकामा कडाइ, अन्य नाकाबाट खुलेआम आवतजावत

मोरङ  । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विराटनगरस्थित रानी भन्सार मूल नाकामा खटिएका सुरक्षाकर्मीले नेपाल र भारततर्फ आवत जावत गर्नेलाई कडाइ गरेका छन् । नाकामा खटिएका सुरक्षाकर्मीले खोप कार्ड हेरेर हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराएपछि मात्रै नेपाल प्रवेश गर्न दिएका हुन् । तर‚ मोरङ जिल्लास्थित अन्य नाकाहरूमा निर्बाध रुपमा आवतजावत भइरहेकाले सीमावर्ती गाउँबासीमा कोरोना संक्रमण फैलिने जोखिम उच्च रहेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईले बिहीबार कडाइ गरिएको रानीस्थित मूल नाकाको अनुगमन गरेर फर्किएका छन् । उनले अन्य नाकाहरूको अवस्थाको बारेमा भने कुनै जानकारी लिएनन् । यसले प्रदेश सरकार पनि कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गम्भीर नदेखिएको स्थानीयको आरोप छ ।

विराटनगरस्थित मटेरुवा, इस्लामपुर, दरहैया, जहदा गाउँपालिकास्थित तरिगामा र पोखररिया, धनपालथानको खैरबना, सोराभाग, मायागञ्ज, रंगेलीको चोपराहा र आमगाछी, सुनवर्षीको सिक्टी र रतुवामाईको बरडंगालगायत नाकाबाट सर्वसाधारणको निर्बाध नेपाल-भारत आवतजावत भइरहेको छ ।

विराटनगर-१७ का वडाध्यक्ष समिर कमरले इस्लामपुर र मटेरुवाबाट नेपाल-भारत आवतजावत भइरहेको बताए । उनले सीमामा खटिएका सुरक्षाकर्मीले आवतजावत गर्नेलाई मास्क लगाउन आग्रह गर्दै आएको तर प्रभावकारी कार्यान्वयन हुन नसकेको सुनाए ।

विराटनगरस्थित मूल भन्सार नाकामा खटिएका सुरक्षाकर्मीले भारतबाट नेपालतर्फ प्रवेश गर्ने भारतीय नागरिकको खोप कार्ड जाँच गर्दै । तस्बिर : देवनारायण साह/कान्तिपुर

जहदा गाउँपालिकाकी उपाध्यक्ष शालो साहले गाउँपालिकास्थित नाका हुँदै भारतबाट आउने क्रम चलिरहेको तर त्यसको नियन्त्रणका लागि कुनै व्यवस्था नभएको बताइन् । उनले भारतबाट निर्बाध भइरहेको ओहोरदोहोरले सीमा क्षेत्रका बासिन्दा संक्रमणको उच्च जोखिममा रहेको बताइन् ।

सुनवर्षीका रामदेव मण्डलले भारतमा कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण उच्च रहेको बेला सीमा नाकामा निर्बाध आवतजावत भइरहेकाले आफूहरू संक्रमणको उच्च जोखिममा रहेको गुनासो पोखे । उनले तीनै तहको सरकारले सीमा नाकामा भइरहेको ओहोरदोहोरलाई व्यवस्थित गरेर सीमा क्षेत्रका बासिन्दालाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति गराउन माग गरे ।

यस्तै अवस्था धनपालथान, रंगेली, सुनवर्षी र रतुवामाईस्थित नाकाहरूको पनि रहेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले रंगेलीस्थित नाका हुँदै भारतबाट सर्वसाधारणको ओहोरदोहोर अधिक रहेकाले स्थानीय तहलाई हेल्थ डेस्क राख्न आग्रह गरेको तर हालसम्म नराखिएको बताए । उनले हेल्थ डेस्कका लागि प्रदेश सरकारलाई समेत आग्रह गरेको सुनाए ।

प्रजिअ दाहालले सरकारले सीमा नाका सील गर्ने निर्णय नगरेकाले अहिले नाकाहरूमा सुरक्षात्मक उपाय अपनाउनका लागि आफूले पहल गरिरहेको बताए ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादव, प्रमुख सचिव राप्रसाद घिमिरे, सुरक्षा निकायका प्रदेश प्रमुख, मोरङका प्रजिअलगायतको टोलीले बिहीबार रानी भन्सार नाका र नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ सेन्टरको अनुगमन गरेका छन् ।

नेपाली सेनाको कालीशक्ति गणले विराटनगर जुट मिलको खाली जग्गामा २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ लागतमा १ हजार जना बस्ने क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि हनुमान कन्स्ट्रक्सन ललितपुरलाई ठेक्का दिएको छ ।

गतअसार ३ गते सम्झौता गरेर निर्माण कम्पनीले निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न हुन सकेको छैन । नेपाली सेनाको काली शक्ति गणका गणपति प्रशान्त बज्राचार्यले एक महिनाभित्र होल्डिङ सेन्टरको निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढाएको बताए ।

होल्डिङ सेन्टर निर्माणका लागि सरकारले समयमा बजेट निकासा नदिँदा काममा ढिलाइ भइरहेको उनले गुनासो पोखे । अनुगमनका क्रममा मुख्यमन्त्री राईले ४ दिनभित्र १ सय शय्या सञ्चालन गर्ने गरी सम्पूर्ण व्यवस्थापन गर्न निर्देशन दिए ।

होल्डिङ सेन्टर तत्काल सञ्चालनका लागि खानेपानी र बिजुली जडान आवश्यक छ । प्रजिअ दाहालले चार दिनभित्र खानेपानी र बिजुलीको व्यवस्थापन गरिसक्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्री राईले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र निदानमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले प्रदेशमा खोप अभियानलाई पनि प्रभावकारी बनाउन निर्देशन दिए । कान्तिपुर बाट