वीरगञ्जमा कोरोना संक्रमित ५५ वर्षीया महिलाको मृत्यु
३० भाद्र २०७७, मंगलवार ०८:१९
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ डम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा सोमबार राति ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।
अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार सोमबार बिहान ११ बजेर १५ मिनेटमा नारायणी अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउनयता मात्रै ५८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
वीरगञ्जमा मृत्यु भएका ६२ जनामध्ये ४१ जना पर्साका छन् । साथै दुई जनाको ठेगाना खुलेको छैन भने बाराका १४, रौतहटका ४ जना र सर्लाहीका १ जना छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया