कोभिड–१९ अस्पतालकी प्रमुख डा. कृष्णा पोखरेलले दिइन् राजीनामा
१६ भाद्र २०७७, मंगलवार १३:३०
धरान । व्यवस्थापन पक्षले अनावश्यक दबाव दिएको भन्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालकी प्रमुख डा. कृष्णा पोखरेलले राजीनामा दिएकी छन् ।
प्रमुख डा. पोखरेलले प्रतिष्ठानको व्यवस्थापन पक्षले कोभिड अस्पतालमा चाहिने औषधि खरिदमा अनावश्यक दबाब दिएको र कोरोना संक्रमित बिरामीको उपचारमा अग्रपंत्तिमा खटिएका चिकित्सकहरुको मनोबल गिराउने काम भएको भन्दै सोमबार प्रतिष्ठानका उपकुलपती डा. गिरीसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।
प्रतिष्ठानको कोभिड अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार प्रतिष्ठानको कोभिड अस्पतलमा चाहिने औषधि खरिदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले माग फारामभन्दा अन्य औषधिमा समेत हस्ताक्षर गर्न लगाएको र संक्रमित बिरामीको उपचारमा चाहिने औषधि समयमा उपलब्ध नगराएको भन्दै डा. पोखरेलले राजीनामा दिएकी हुन् ।
यता डा. पोखरेलले अस्पताल प्रमुखका रुपमा काम गर्ने वातावरण नभएका कारण आफूले राजीनामा दिएको बताइन् । उनले अस्पताल प्रमुखबाट मात्र राजीनामा दिएको र बिरामीको उपचारलाई भने निरन्तरता दिइरहने जानकारी दिइन् । उनी प्रतिष्ठानको एनेशथेसिया विभागकी प्रोफेसर हुन् ।
प्रतिष्ठानका उपकुलपति गिरीलाई पहिलो लकडाउनको समयमा प्रधानमन्त्री केपी ओलीले नियुक्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया