पाँच महिनामा विराटनगर भन्सारबाट साढे १८ अर्ब राजस्व संकलन – Nagarikabhiyan : National News

पाँच महिनामा विराटनगर भन्सारबाट साढे १८ अर्ब राजस्व संकलन

विराटनगर ।  चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा विराटनगर नाकाबाट साढे १८ अर्ब राजस्व संकलन भएको छ ।
विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १८ अर्ब ५१ करोड ६४ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिसकेकोे छ । राजस्व संकलनको आधारमा विराटनगर भन्सार कार्यालयले सबैभन्दा बढी राजस्व मोटरसाइकल आयातबाट संकलन गरेको छ । ५ महिनाको अवधिमा मोटरसाइकल आयातबाट १ अर्ब ४२ करोड २२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यस्तै तयारी कपडा आयातबाट १ अर्ब १३ करोड १८ लाख २ हजार, पेट्रोलबाट १ अर्ब ८ करोड ६१ लाख ९५ हजार, पोलेथिन दानाबाट ९० करोड ६८ लाख ३८ हजार, स्ट्रील वायर रडबाट ६२ करोड ७७ लाख ८८ हजार, एलपी ग्याँसबाट ६० करोड ४ लाख ५३ हजार, एमएस विलेटबाट ५३ करोड ८४ लाख ७३ हजार रुपैयाँ संकलन भएको छ । यस्तै भटमासको कच्चातेलबाट ४८ करोड २५ लाख १० हजार, सूर्यमुखीको कच्चातेल आयातबाट ४५ करोड २३ लाख ५३ हजार, कच्चा पामतेलबाट ४१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार मंसिर महिनामा भन्सारले ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । मंसिर महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब १७ करोड ५६ लाख ३६ हजार रुपैयाँ लक्ष तोकिएको थियो । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन ।

विराटनगर भन्सार कार्यालयका अनुसार साउन महिनामा ३ अर्ब ४३ करोड ९१ लाख ६१ हजार राजस्व लक्ष तोकिए पनि विराटनगर भन्सार कार्यालयले ३ अर्ब ३४ करोड ९६ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै भदौ महिनामा ४ अर्ब १६ करोड ८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकिएकोमा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ८६ करोड ९७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । असोज महिनामा ४ अर्ब ९ करोड ४७ लाख २८ हजार लक्ष्य तोकिएकोमा ३ अर्ब ७९ करोड २४ लाख १९ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यस्तै कात्तिक महिनामा ४ अर्ब २३ करोड २३ लाख २५ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा ३ अर्ब ५६ करोड ५ लाख १२ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ ।