नवलपरासीको सुस्तामा एक भ्यानमा आगलागी – Nagarikabhiyan : National News

नवलपरासीको सुस्तामा एक भ्यानमा आगलागी

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ रुपौलियामा सोमबार भ्यानमा आगलागी भएको छ । रुपौलियाको भित्रि सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ च ६६३० नम्बारको चाउमिन बोकेको भ्यान आँफै अनियन्त्रित भएर सडकबाट २० फिट तल परालमा खसेको थियो।

चालकले भ्यानलाई सडकमा निकाल्ने क्रममा गाडीमा आँफै आगलागी भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी सूचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिए । स्थानीयको सहयोग, ईलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी कुडियाबाट खटेको टोलीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । आगलागीका कारण भ्यान पुर्ण रुपमा जलेर नष्ट भएको छ भने मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।