कोशी ब्यारेजका प्रमुख भन्सार अधिकृत न्यौपानेको दादागिरी, न्यौपानेका कारण किसानलाई उत्पादन बेच्नै समस्या
५ पुष २०७८, सोमबार १७:३९
देवानगञ्ज । छिमेकी मुलुक भारतमै किसानले उत्पादन गरेका वस्तुको बजारीकरण सरकारले गरिदिन्छ । जसका कारण किसानलाई आफ्नो उत्पादन बिक्रीमा समस्या छैन । अझ राज्यका तर्फबाट विभिन्न सुविधा र अनुदान पाउने गर्छन् उनीहरूले । तर नेपालमा राज्यले बजारीकरण गर्नु त कता हो कता किसानले बजारमा बिक्री गर्न लाँदा विभिन्न बहानामा दुःख दिने गरेको पाइन्छ । जसको उदाहरण खोज्न टाढा जानु पर्दैन सुनसरीको कोशी ब्यारेज गए पुग्छ । त्यहाँका प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले किसानले बजार लाँदै गरेका कृषि उत्पादन नियन्त्रणमा लिन्छन् र आफूले ठूलो उपलब्धि हासिल गरेको ठान्छन् । केही दिनअघि सुनसरीका किसानले बिक्रीका लागि इनरुवा लाँदै गर्दा उनै न्यौपानेको अग्रसरतामा किसानका चार ट्याक्टर आलु नियन्त्रणमा लिएको छ ।
मसिर २९ गते सुनसरीको कप्तानगञ्जका किसान खेलान्नद यादव, पिन्टु यादव, महान्नद मेहताले खेतमा उत्पादन गरेको आलु भाडाको ट्याक्टरमा इनरुवा लैजाँदै गर्दा कोशी ब्यारेज भन्सार प्रमुख न्यौपाने निर्देशन र संलग्नतामा जफत गरिएको छ । बिचौलियाहरूको उत्साहटमा आफूहरूले दुःख गरेर उत्पादन गरेका आलु नियन्त्रणमा लिएको किसानहरूको आरोप छ । “हामीले आफ्नै खेतबारीमा दुःख गरेर उत्पादन गरेको आलु बिक्री गर्न लाँदै गर्दा तस्करीको आरोपमा नियन्त्रणमा लिइएको छ,” पीडित किसान खेलानन्द यादवले भने, “हाम्रो खेत बारीमा गएर हेर्दा हुन्छ, आलुमा टाँसिएको माटो र खेतमा भएको माटो परीक्षण गर्दा पनि हुन्छ, यदि गलत भए हामी कारबाही भोग्न तयार छौं ।”
भन्सारले नियन्त्रणमा लिएको आलु र ट्याक्टर लिलामी गरिसकेको छ । यसरी तस्करीको आरोपमा आलु नियन्त्रणमा लिनुको पछाडि व्यापारीहरूको हात रहेको किसानको भनाइ छ । किसान यादवकै शब्दमा व्यापारीहरू खेतमै आएर खरिद गर्दा उनीहरूले सस्तोमा आलु पाउने गर्दथे । तर, किसानले बजारसम्मै पु¥याएर बिक्री गर्दा उनीहरूको नाफा घट्छ ।
आफ्नै खेतको आलु भएको भए पनि भारतबाट तस्करी गरेर ल्याएको सुराकीको आधारमा प्रमाणबिनै जफत गरेको देखिन्छ । नागरिक अभियानकर्मीले स्थलगत रिपोर्टिङमा पनि देवानगञ्ज गाउँपालिका वडा नम्बर ४ का किसानको आलु भएको पाइएको छ । रिपोर्टिङमा खेलान्द यादवको छेउकै एक बिघाभन्दा बढीको खेतमा लगाएको आलु खनेको देख्न सकिन्छ । भन्सारले आलु जपथ गरेपछि किसानले सुनसरीको दक्षिणी क्षेत्रमा उत्पादित आलु बजार लान सकेका छैनन् । उनीहरूमा एकप्रकारको त्रास देखिएको छ । “बजार लाँदालाँदै भन्सारले तस्करीको बहाना बनाएर बाटैमा जपथ गर्ने हो कि भन्ने त्रास छ, त्यही भएर खेतमै थुपारेर राखेको छु,” स्थानीय किसान अशोक यादवले भने, “बिचौलियासित मिलेर भन्सारका प्रमुख अधिकृत अर्जुन न्यौपानेले सीमाभन्दा बढी दादागिरी देखाएका छन् ।”
यसरी बजार लान नपाउँदा व्यापारीहरूले किसानकै खेतमा पुगेर सस्तोमा आलु खरिद गर्ने गरेका छन् । कुहिएर जाने अवस्था आएपछि व्यापारीले जति भन्यो त्यतिमै दिनुपर्ने अवस्था रहेको अर्का स्थानीय किसान प्रदीप मेहताको गुनासो छ । उनका अनुसार मूल्य नपाउँदा लागतसमेत नउठ्ने स्थिति सिर्जना भएको छ ।
स्रोतले दिएको जानकारीअनुसार प्रमुख न्यौपानेको स्थानीय व्यापारीसित साँठगाँठ रहेको छ । व्यापारीहरूसँगको मिलोमतोमै न्यौपानेले किसानलाई दुःख दिने गरेका छन् । “प्रमुख भन्सार अधिकृतले व्यापारीसित मासिक बुझ्ने गरेका छन्,” स्रोतले भन्यो, “त्यही भएर किसानले बजारमा आलु लानसमेत पाएका छैनन् ।”
किसानले दुःख गरेर उत्पादन गरेका वस्तु कौडीका भाउमा पाउने भएपछि व्यापारीसमेत न्यौपानेलाई मासिक बुझाउन तयार हुन्छन् । सीमा क्षेत्रमा सशस्त्र र जनपद प्रहरीको समेत बाक्लो उपस्थित रहेको छ । “तस्करीमार्फत भारतबाट आएको आलु हो भने सीमामै रोकिनु पर्ने थियो,” स्थानीय बुद्धिजीवि दयानन्द मेहता भन्छन्, “राज्य नै किसानलाई विस्थापित गर्न लागि परेको छ । आलु जपथ प्रकरणको गहिरो अनुसन्धान हुनुपर्छ । यसमा किसानको कुनै गल्ती देखिँदैन ।” न्यौपाने यसअघि पनि विभिन्न विवादमा मुछिँदै आएको स्रोतले बताएको छ ।
यता नागरिक अभियानकर्मीले प्रमुख भन्सार अधिकृत न्यौपानेसित सम्पर्क गर्दा उनले पदीय मर्यादाभन्दा बाहिर गएर प्रस्तुत भए । उनले मोबाइलमा बोलेको रेकर्ड हामीसित सुरक्षित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया