कांग्रेसमा निर्वाचन प्रक्रिया जटिल भयोः विजयकुमार गच्छदार – Nagarikabhiyan : National News

कांग्रेसमा निर्वाचन प्रक्रिया जटिल भयोः विजयकुमार गच्छदार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पदका उमेदवार विजयकुमार गच्छदारले सभापतिमा शेरबहादुर देउवा पहिलो चरणमा नै विजयी हुने दाबी गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मतदान गरेपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गच्छदारले भने, “प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नै सभापति बन्नुहुन्छ । मत नै जित्ने आधार हो । जसरी प्रतिनिधि चयन भएको छ म त यकिनका साथ भन्छु, पहिल्यै चरणमा उहाँ सभापति बन्नुहुन्छ ।”

गच्छदारले मतदान प्रक्रिया लामो भएको पनि बताए । मतदान गर्न आफूलाई ५० मिनेट लागेको उनले सुनाए ।
“जटिल चुनावी प्रक्रिया हो । दुनियाँमा नै यस्तो जटिल प्रक्रियामा मतदान भएको छैन । तर, दुनियाँमा यसरी जातीय प्रतिनिधित्व हुने गरी पार्टीमा प्रतिनिधित्व गराएर जटिल मतदानको प्रक्रिया अपनाएर प्रयोग भएको मलाई थाहा छैन । नयाँ प्रक्रिया भएर जटिल भयो,” गच्छदारले भने ।