सरकारको कदम ‘वैज्ञानिक’ भएन, यही ताल हाे भने काठमाडौंमा ‘डिजास्टर’ हुन्छः डा. बास्तोला – Nagarikabhiyan : National News

सरकारको कदम ‘वैज्ञानिक’ भएन, यही ताल हाे भने काठमाडौंमा ‘डिजास्टर’ हुन्छः डा. बास्तोला

काठमाडौंं । शुक्रराज अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना नियन्त्रणका लागि सरकारले चालेको कदम ‘वैज्ञानिक’ नभएको बताएका छन् ।

काठमाडौं उपत्यकाका लागि सरकारले यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । यस सम्बन्धमा बोल्दै बास्तोलाले ‘सरकारले कोभिड रोकथाम गर्न खोजेको हो कि ट्राफिक व्यवस्थापन गर्न खोजेको हो ?’ भन्दै प्रश्न गरेका छन् ।

उनले भने ‘सरकारले यातायातका साधनमा जोर–बिजोर प्रणाली लागू गरेको छ । सरकारले कोभिड रोकथाम गर्न खोजेको हो कि ट्राफिक व्यवस्थापन गर्न खोजेको हो ? यो कोभिड रोकथामका लागि वैज्ञानिक छैन ।’

डा. अनुप बास्तोलाले अघि भनेका छन् ‘प्रदेश २ मा कोरोना समुदायमा फैलिसकेको छ । उपत्यकामा ‘क्लस्टर’ (सम्पर्क–सम्पर्क–सम्पर्क)को रूपमा फैलिएको छ । त्यसको मतलब बाहिरबाट आएका मान्छेले सारेकाको संख्या बढी छ अहिलेसम्म । दुई महिनाअघि तराई कुन अवस्थामा थियो, अहिले काठमाडौं त्यही अवस्थामा पुगेको छ ।’

उनले आब तराईमा लकडाउन गरे पनि कोरोना रोकिने सम्भावना नरहेको बताएका छन् । उनले भने ‘देशमा कोभिडको दोस्रो केस देखिँदा लकडाउन गरियो, तीन महिनापछि आएर तराईमा महामारी सुरु भयो । तराईमा अब लकडाउन गरे पनि रोकिने सम्भावना छैन ।’

उनले थपे ‘उपत्यकामा भर्खर सुरु भएको छ, अझै १५ दिनमा पनि खास परिस्थिति स्पष्ट हुनेछैन । अझै पनि काठमाडौं सुरुवाती चरणमा छ, तर हाम्रो शैलीले ‘डिजास्टर’ ल्याउनेछ । किनकि अहिले कोही संक्रमित हो कि होइन र संक्रमित कहाँ पुगेको छ भन्ने कसैलाई पनि जानकारी छैन ।’ नेपालपानाबाट