‘लुब्रिकेन्ट उद्योगलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार सकारात्मक’ – Nagarikabhiyan : National News

‘लुब्रिकेन्ट उद्योगलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार सकारात्मक’

विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले नेपाली लुब्रिकेन्ट उद्योगहरुलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार सकारात्मक रहेको बताएका छन् ।
उनले मोरङ हात्तीमुढास्थित फुजिमा आयल कम्पनी प्रालिको उद्योग भ्रमण गरी नेपाली लुब्रिकेन्ट उद्योगहरुको अवस्था र उत्पादन क्षमताको बारेमा जानकारी लिएका थिए । अर्थसचिव मधुकुमार मरासिनी, प्रदेश–१ का आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोलगायतले उद्योगको भ्रमण गरेका थिए ।

उद्योगका प्रबन्ध निर्देशक सुवोध कोइरालाले नेपाली उद्योगहरुले पूर्ण क्षमतामा सञ्चालन हुन पाए र विदेशबाट आउने लुब्रिकेन्टमा सरकारले अतिरिक्त शुल्क लगाउने हो भने नेपाल लुब्रिकेन्टमा आत्मनिर्भर हुने जानकारी गराएका थिए । कोइरालाले २७ वर्षदेखि आफ्नो कम्पनीले ७० प्रकारका इन्जिन आयल उत्पादन गर्दै आएको जानकारी गराउँदै भारत र अन्य मुलुकबाट आउने लुब्रिकेन्टले ६५ प्रतिशत नेपालको बजार ओगटेको र नेपाली उद्योगहरु ३५ प्रतिशत उत्पादनमा खुम्चनु परेको अर्थमन्त्री शर्मालाई जानकारी गराए ।

उनले नेपालमा २० अर्बको इन्जिन आयल र ग्रिज खपत हुने तर नेपाली उत्पादनले ७ अर्बको मात्र बजार ओगटेको बाँकी १३ अर्बको बजार विदेशी कम्पनीले ओगटेको बताए । विदेशी गाडीहरु नेपाल भित्रदा उनीहरुले नै लुब्रिकेन्ट पनि भित्र्याउने र आफ्नो कम्पनीको लुब्रिकेन्ट प्रयोग गरेमा मात्र इन्जिनको ग्यारेन्टी दिने बताएर उपभोक्तालाई डर देखाएर आफ्नो लुब्रिकेन्ट बिक्री गर्ने गरेको तर नेपाली कम्पनीहरुले अहिले आफ्नो उत्पादन प्रयोग गर्दा इन्जिनहरुमा कुनै खराबी आएमा शतप्रतिशत बिमामार्फत क्षतिपूर्ति दिने व्यवस्था गरेको कोइरालाले मन्त्रीलाई जानकारी गराए ।

फुजीमा आयल कम्पनी प्रालिले उत्पादन गरेको इन्जिन आयल तथा ग्रिजहरु प्रयोग गर्दा इन्जिन र मेसिनरीमा कुनै समस्या आएमा कम्पनीले शतप्रतिशत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले नेपालमै पहिलो पटक उत्पादित सामग्री प्रयोग बापत हुने खराबीको बिमा गरेको छ । कम्पनीले एक करोडसम्मको क्षतिको शतप्रतिशत भुक्तानी गर्नेगरी हिमाल इन्स्योरेन्स कम्पनीसँग सम्झौता पनि गरेको उनले मन्त्री शर्मालाई जानकारी गराए । फुजीमा आयल कम्पनीले वार्षिक रुपमा ३ हजार ५ सय किलो लिटर ल्यूब आयल उत्पादन गरी बजारमा पठाउँदै आएको छ ।