मोरङ कांग्रेस सभापतिका लागि पुनः मतदान हुने – Nagarikabhiyan : National News

मोरङ कांग्रेस सभापतिका लागि पुनः मतदान हुने

विराटनगर ।  नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः मतदान हुने भएको छ ।
आइतबार सम्पन्न निर्वाचनमा तीनजना उमेदवारमध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनः मतदान हुने भएको हो । सभापतिका उम्मेदवारहरू डिगबहादुर लिम्बू, दिलीप गच्छदार र यदुकुमार विष्टमध्ये कसैले पनि मतदानको ५१ प्रतिशत मत हासिल गर्न नसकेका कारण पुनः मतदान गर्नुपरेको मोरङका सहायक निर्वाचन अधिकृत गणेश भुजेलले जानकारी दिए । मतदान केन्द्र परिवर्तन गर्नुपर्ने भएकाले निर्वाचन कहिले हुने भन्ने टुंगो भइनसकेको अधिृकत भुजेलले बताए ।

आइतबार निर्वाचन सम्पन्न भएलगत्तै जिल्ला पार्टी कार्यालय मोरङमा मतगणना गरिएको थियो । कुल ३ हजार ४ सय १४ मत खसेकोमा सभापतिका लागि ३ हजार ३ सय ६० मत परेको थियो । सभापतिमा लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत पाउनुभएको थियो । जिल्लामा कुल मतदाता संख्या ३ हजार ५ सय १७ भए पनि आइतबार सम्पन्न निर्वाचनमा १ सय मत कम खसेको थियो । १ सय ४७ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।